बुटवल। लुम्बिनी: नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवन अवलोकन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विकास निर्माणमा युवा पुस्ताको संलग्नतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष जीवन पाण्डे, केन्द्रीय कार्यसमिति कार्यवाहक सचिव एवं प्रदेश इन्चार्ज विपिन नेपाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय सदस्य मनिष भुसाल, पत्रकार मनिष पन्थ, सामाजिक युवा अभियन्ता आविष्कार खनाल लगायत नमस्ते नेपालका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
अवलोकनको क्रममा केन्द्रीय कार्यसमिति कार्यवाहक सचिव तथा प्रदेश इन्चार्ज विपिन नेपालले युवाहरूको भूमिकालाई विशेष रूपमा जोड दिँदै भने, “समृद्ध नेपाल निर्माणको सपना युवाहरूले मात्र पूरा गर्न सक्छन्। विकास निर्माणमा सबैको सहभागिता अनिवार्य छ।” उनले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्यले सम्पूर्ण प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।
नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष जीवन पाण्डेले युवाहरूको सक्रिय सहभागिता बिना दीर्घकालीन योजनाहरूको विकास सम्भव नभएको उल्लेख गर्दै अस्पताल निर्माण कार्यलाई समयमै सम्पन्न गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। केन्द्रीय अध्यक्ष मनिष भुसालले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणले समग्र प्रदेशलाई ठूलो फाइदा पुर्याउने बताउँदै शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय समुदायले यो अस्पताललाई लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा हेरेको बताए।
यस अवसरमा नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीले क्षेत्रका अन्य विकास योजनाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, युवाहरूलाई समाजसेवा र राष्ट्रनिर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गर्यो। संस्थापक अध्यक्ष अर्जुन खरेलले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आवश्यक परेमा दबावमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने बताए।