गुल्मी।कार्यसम्पादन मूल्याङ्कनका आधारमा लुम्बिनी प्रदेशमा धुर्कोट गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेकाे छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका गाउँपालिकाहरूमध्येमा धुर्कोट गाउँपालिका प्रथम भएको हो ।
आयोगका अनुसार धुर्कोटले ७६ दशमलव सात अङ्क प्राप्त गरेको छ । प्रदेशमा गाउँपालिकाको तर्फबाट गुल्मीको रूरूक्षेत्र गाउँपालिका दोस्रो र गुल्मीकै छत्रकोट गाउँपालिका तेस्रो भएका छन् । रूरूक्षेत्रले ७६ दशमलव दुई र छत्रकोटले ७४ दशमलव आठ अङ्क प्राप्त गरेका छन् । देशभरका सात सय ५३ पालिकामध्ये धुर्कोट १०औँ स्थानमा रहेको छ भने लुम्बिनी प्रदेशका एक सय नौ पालिकामध्ये तेस्रो स्थानमा छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि–२०७८ अनुसार अङ्क प्रदान गर्दछ । असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, वार्षिक बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरुजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रूपमा मापन गरेको छ ।
त्यसै गरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा एक दशमलव छ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चार पटक गर्भ जाँच गरेको महिलाको अनुपातलगायत १७ सूचकका आधारमा वित्त आयोगले अङ्क प्रदान गर्ने धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए। आयोगको तथ्याङ्कअनुसार गुल्मीको रेसुङ्गा नगरपालिका ७४ दशमलव चार, गुल्मी दरबार गाउँपालिकाले ६४ दशमलव दुई, मदाने गाउँपालिकाले ६८ दशमलव नौ अङ्क प्राप्त गरेका छन् ।
मालिकाले ७३ दशमलव छ, इस्माले ५६ दशमलव छ, मुसिकोटले ६१ दशमलव चार, चन्द्रकोटले ६२ दशमलव दुई, सत्यवतीले ६३ दशमलव छ तथा कालीगण्डकीले ६० दशमलव दुई अङ्क प्राप्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष पोखरेलले कर्मचारी, जनप्रतिनिधि र सिङ्गो समुदायको सहयोगका कारण यो सफलता हासिल भएको बताए ।
यसभन्दा अगाडि पनि धुर्कोट गाउँपालिका उत्कृष्ट भएको भन्दै उनले अहिलेको सफलता जोगाइराख्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे । स्थानीय तहमा हुने सीमित स्रोत र साधनका बाबजुद पनि प्रभावकारी काम गर्न सकेकामा उनले खुसी व्यक्त गरे।