बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको प्रगतिबारे जानकारी लिन मंगलबार अनुगमन गरेका छन्। प्रदेश सरकारले गौरवको आयोजना रूपमा अघि बढाएको यो परियोजनाको समयमै सम्पन्न गर्न निगरानी बढाइएको छ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले अस्पताल भवन निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढेको भन्दै सन्तोष व्यक्त गरे। उनले भने, “यो प्रदेशकै गौरवको आयोजना हो। निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सरकार प्रतिबद्ध छ। हालसम्मको प्रगति सकारात्मक छ, र आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने आशा छ।”
लुम्बिनी प्रादेशिक अस्पतालको भवन ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ। गत भदौ १५ गते शिलान्यास गरिएको यो परियोजना भारतीय कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसन ले संयुक्त रूपमा निर्माण गर्दै छन्। प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत ठेक्का सम्झौता २०८० पुस २६ गते भएको थियो।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इञ्चार्ज इञ्जिनियर शंकर सुवेदीका अनुसार, हालसम्म १३ प्रतिशत काम सम्पन्न भइसकेको छ, र निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न गर्न दैनिक २१० जना कामदारहरू खटिएका छन्। हाल सबभन्दा तल्लो बेसमेन्टको रड बुन्ने, पिलर उठाउने र भुइँ ढलान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
सम्झौता अनुसार १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नयाँ भवन निर्माणपछि ओपीडी, इमर्जेन्सी सेवा, ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन गरिनेछ। साथै, पुराना भवनहरूलाई डायग्नोस्टिक एन्ड रिसर्च, प्रसूति तथा महिला तथा बालरोग उपचारका लागि प्रयोग गरिनेछ।
नयाँ भवनको सबैभन्दा माथि हेलिप्याड हुनेछ, जसबाट आकस्मिक बिरामीलाई प्रत्यक्ष रूपमा इमर्जेन्सी वार्डमा लैजान लिफ्टको व्यवस्था गरिनेछ। साथै, अस्पतालको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै पाँच तले भवन निर्माण गरिनेछ, जसको जग खन्ने काम समेत सुरु भइसकेको छ।
मुख्यमन्त्री आचार्यले अस्पताल भवन समयमै सम्पन्न गर्न सरोकारवालाहरूलाई निरन्तर निगरानी राख्न निर्देशन दिएका छन्। “प्रदेशवासीले स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नयाँ अस्पताल भवन महत्वपूर्ण हुनेछ, त्यसैले गुणस्तरीय र समयमै काम सम्पन्न गर्न कुनै सम्झौता गर्न पाइँदैन,” उनले भने।