बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीको संयोजनमा रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रदान गर्ने ‘उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०८१’ बाट बुटवल टुडे राष्ट्रिय दैनिकका उप-सम्पादक तथा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनाल सम्मानित भएका छन्।
खनाललाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य जमुना ढकाल, रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त प्रसाद ढकाल, लुम्बिनी प्रदेश विशिष्टकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौडेललगायतले नगदसहित सम्मान गरेका हुन्।
पुरस्कार वितरण समारोह रुपन्देही बचत तथा ऋण सहकारी संस्थाको १९औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि जमुना ढकालले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न राज्यले ठोस नीति आवश्यक रहेको बताइन्। उनले सहकारी अभियानलाई पारदर्शी बनाउन जनचेतना अभिवृद्धि गर्दै राज्य संयन्त्रको प्रभावकारी नियमन आवश्यक रहेको उल्लेख गरिन्।
जिल्ला बचत संघका पूर्व अध्यक्ष तथा सल्लाहकार भीम प्रसाद तुलाचनले केही सहकारी संस्थाहरूको कमजोरीका कारण समग्र सहकारी क्षेत्र नै आलोचित हुनुपरेको बताए। उनले सहकारीको सशक्त नियमनका लागि सरकारले ठोस नीति लागू गर्नुपर्नेमा जोड दिए।
केन्द्रीय सहकारी संघका लेखा समिति सुपरिवेक्षकसमेत रहेका तुलाचनले सहकारी ऐनको पूर्ण कार्यान्वयन नहुनु नै अहिले देखिएका समस्याको मुख्य कारण रहेको बताए। सहकारी प्राधिकरण स्थापना गर्नुभन्दा प्रभावकारी नियमन प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा लुम्बिनी विशिष्टकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौडेल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष श्रीकृष्ण नेपाल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक हरि प्रसाद काफ्ले लगायतले सहकारी क्षेत्रको सुदृढीकरणका लागि सुधारात्मक नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।
उक्त अवसरमा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ स्थित भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थालाई ‘उत्कृष्ट सहकारी’ को रूपमा पुरस्कृत गरिएको थियो। साथै, संघले प्रकाशन गरेको ‘सहकारी बुलेटिन २०८१’ को विमोचन समेत गरिएको थियो।
संघका अध्यक्ष बसन्त प्रसाद ढकालले सहकारी अभियान हाल केही चुनौती सामना गरिरहे पनि दीर्घकालीन रूपमा यसको महत्त्व यथावत् रहने उल्लेख गरे। उनले सहकारी प्रणालीलाई मजबुत बनाउन नियमनकारी निकायको सक्रिय भूमिका आवश्यक रहेको बताए।