सामाजिक सञ्जाल विधेयक विरुद्ध सरोकारवालाहरूको विरोध, फिर्ताको माग

by समतल अनलाइन

बुटवल । मानवअधिकार तथा शान्ति समाजले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमनसम्बन्धी प्रस्तावित विधेयक हुबहु पारित भए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। सरकारले राष्ट्रियसभामा पेस गरेको उक्त विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रभाव पार्ने भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

मंगलबार बुटवलमा आयोजित छलफल कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीका सभापति अर्जुन ज्ञवालीले समाजको अवधारणा पत्र प्रस्तुत गर्दै विधेयकले वाक स्वतन्त्रता सीमित गर्ने प्रावधान समेटेको भन्दै तत्काल फिर्ता लिन माग गरे।

कार्यक्रममा समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले विधेयक संविधान प्रदत्त मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत रहेको बताए। उनले सामाजिक सञ्जालको मर्यादित प्रयोग आवश्यक भए पनि नियमनको नाममा नागरिकको अभिव्यक्ति थुन्ने प्रयास अस्वीकार्य हुने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, राससका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईं, अभियन्ता देवराज पोख्रेल, ऋषि आजाद तथा विभिन्न दलका नेताहरू युवराज गिरी, हरि अर्याल, शरद वली, महेन्द्र भुसाल, हरिसुन्दर वासी लगायतले विधेयक व्यापक छलफलबिना ल्याइनु आपत्तिजनक रहेको धारणा व्यक्त गरे।

उनीहरूले सामाजिक सञ्जालको मर्यादित प्रयोग आवश्यक भए पनि नियमनका नाममा नागरिकको मौलिक हक कुण्ठित हुने गरी विधेयक अघि बढाउन नहुने बताए। कार्यक्रमका सहभागिहरूले विधेयक फिर्ता लिनुपर्ने माग गर्दै व्यापक परामर्शपछि मात्र पुनः संशोधनसहित पेस गर्न सरकारलाई आग्रह गरेका छन्।

 
 
  
 

You may also like