बुटवल। पाल्पामा कोठाभाडा नदिएको निहुँमा घरधनीले भाडामा बस्ने व्यक्तिको हत्या गरेको घटनाप्रति घरबहाल सरोकार महासंघ नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै निन्दा तथा भर्त्सना गरेको छ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा घरबहाल सरोकार महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले घटनालाई निन्दनीय र अमानवीय भन्दै पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कडा कारबाहीको माग गरेको छ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष खगेन्द्र पौडेलले १४ सय रुपैयाँ कोठाभाडा नदिएको कारण हत्या हुनु मानव अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै दोषीलाई हदैसम्मको सजाय दिन सरकारलाई आग्रह गरे।
महासंघका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला अध्यक्ष राजु लिगलले नेपालमा घरभाडा विवादका कारण मानसिक तनावले आत्महत्या गरेका घटनाहरू देखिए पनि हत्या भएको सम्भवतः यो पहिलो घटना भएको बताए।
पत्रकार सम्मेलन महासंघका लुम्बिनी प्रदेश सदस्य कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको थियो।
पाल्पाको तानसेन नगरपालिका–१४ साँचास्थित माधव विष्टको घरमा डेरा गरी बस्दै आएका रिब्दीकोट गाउँपालिका–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी यही माघ २३ गते मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार बुढाथोकीको शव कोठाभित्र रगतले लथपथ अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानपछि घरधनी विष्टलाई हत्या आरोपमा पक्राउ गरिएको छ।
प्रहरीका अनुसार मृतक बुढाथोकी डेरामा बस्दै मजदुरी गर्दै आएका थिए, र घरधनीसँग भाडा विवादकै कारण हत्या भएको अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।