बुटवल। बुटवल उपमहानगरपालिकाले आफ्नो स्थापनाको ६६ औं स्थापना दिवस सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ। स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल, रक्तदान, गौशालामा पञ्चेबाजाको तालिम, विद्यालय स्तरका कार्यक्रमहरू राखिएको उपमहानगरले जनाएको छ।
आज बिहान बीपी कोईराला स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बुटवल ७ सिद्घेश्वर मैदानमा बुटवलका जनप्रतिनिधि र राजनीतिक दलहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। यसै अवसरमा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६६ जना रक्तदाताले रक्तदान गरेका थिए।
नगर प्रमुख खेलराज पाण्डेयले बुटवल विकासका कामसँगै रचनात्मक कार्यमा समेत अग्रपंक्तिमा रहेको बताउँदै नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति अत्यन्तै क्रियाशील रहेको उल्लेख गर्नुभयो। उहाँले उपमहानगरपालिका स्थापना दिवसको पूर्व सन्ध्यामा विद्यालय स्तरका कार्यक्रमहरू गर्न पहल गरिएकोमा वार्षिक परीक्षा लगायतका कारणले केही कार्यक्रम पछि सारिएको जानकारी दिनुभयो। यसै अवसरमा आजबाट नै नन्दिनी गौशालामा पञ्चेबाजा बजाउने तालिम सञ्चालन भएको छ।
आइतबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरूलाई सम्मान तथा पुनर्मिलन कार्यक्रमसमेत राखिएको छ।
बुटवल (पुरानो नाम: बटौली-खस्यौली) नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित एक उपमहानगरपालिका हो। यो सहर तिनाउ अथवा तिलोत्तमा नदीको किनारमा अवस्थित छ। रुपन्देही जिल्लाको तत्कालीन बुटवल-खस्यौली इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१६ कार्तिक १२ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो।
तत्कालीन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि बुटवल-खस्यौली नगरपालिकाको नाम परिवर्तन भई ‘बुटवल-खस्यौली नगरपञ्चायत’ भएको थियो। वि.सं. २०३५ माघ ८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यसको नामबाट ‘खस्यौली’ हटाइ ‘बुटवल नगरपञ्चायत’ कायम गरिएको थियो।
नेपाल सरकारले वि.सं. २०७१ साल मङ्सिर १६ गतेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिकाको लागि आवश्यक प्रक्रिया पूरा भएपछि यसलाई नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। बुटवललाई उपमहानगरपालिका घोषणा गर्दा तत्कालीन सेमलार तथा मोतिपुर गाउँ विकास समितिलाई समावेश गरिएको थियो।
जननिर्वाचित प्रतिनिधिहरुले स्थापना कालदेखि फागुन ३ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै नगर प्रमुख पाण्डेले परम्परादेखि मनाउँदै आएको दिनलाई नै आधार मानेर सप्ताहव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाइएको बताउनुभयो।