काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिएका छन् । अध्यादेश र संविधान संशोधन लगायतका विषयमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिएका हुन् । ‘संख्याको मात लागेर दुरुपयोग गर्नु थाल्नु भयो भने त्यसको प्रतिकारमा जनता उत्रिन्छन्’, उनले भने, ‘जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन ।’
उनले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेण्डा छ कि ? भन्ने प्रश्न पनि गरेका छन् । नेपालले त्यसो भए सामना गर्न तयारी रहेको चेतावनी दिए । अध्यक्ष नेपालले सरकारलाई संख्याकै मात लागेको भए छिमेकी देशहरुका घटना हेर्न सुझाव समेत दिएका छन् । ‘तपाईंहरुलाई संख्याको मात लागेको हो भने छिमेकी देशहरुको घटना सम्झिनुस् । चाहे त्यो बंगलादेश होस् चाहे त्यो श्रीलंका होस् । त्यसले कम्सेकम पाठ सिकाउनु पर्ने हो ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा गम्भीर नभएको आरोप लगाएका छन् । काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली गम्भीर नभएको बताएका हुन् । उनले प्रधानमन्त्री ओली मुलुक र जनताको समस्या समाधानमा नभइ सत्तालाई कसरी स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएको उनको आरोप छ ।
‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न’, उनले अघि भने, ‘उहाँ वास्तवमा देश चलाउनका लागि जनताको समस्या समाधानका लागि होइन, कसरी हुन्छ यो सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएर लाग्नु भएको छ ।’ उनले प्रधानमन्त्री ओलीको कार्यशैलीले देशको भविष्यलाई संकटग्रस्त बनाउँदै जाने सम्भावना देखिएको दाबी समेत गरे । नेपालले केपी ओलीले आफू प्रधानमन्त्री हुन दुनियाँलाई ढाटेको आरोप पनि लगाए ।