माल्टा । तामाङ समाज माल्टाले भव्यताका साथ सोनाम ल्होछार मनाएको छ ।
मञ्जुश्री सम्बत् २८६१ डुल स पुख्री (सर्प बर्ग) ल्होको अवसरमा आईतवार समाजले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाएको हो । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाइएको समाजका महासचिव अशिम लोप्चनले जानकारी दिए।
कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने खालका विशेष सांगीतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध साँस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियोे । सो अवसरमा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बिदेशमा आर्जन गरेको ज्ञान र सीपलाई नेपाल भित्र्याउन जोड दिदै नेपाली उत्पादनसंग जोड्न आग्रह गरे ।
कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु को बाक्लो उपस्थिति रहेको थियो । सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरूले कार्यक्रम थप उल्लासमय बनेको थियोे । प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए । सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव हो । जसलाई विशेष रूपमा परम्परागत रीतिरिवाज र धार्मिक आस्थासँग जोडेर मनाइन्छ। कार्यक्रमका वक्ताहरूले तामाङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका थिए ।
एनसिसि माल्टा तमु समाज, मगर समाज र नेपाली समाजका अध्यक्ष, पदाधिकारीहरु र समाजका स्वयंसेवकहरूको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूबीच उत्साह र आपसी समझदारी बढाएको थियो । कार्यक्रमको सफल आयोजकले तामाङ समुदायलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ। यस अवसरमा, तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन: स्मरण गराएको थियो । कार्यक्रममा सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र सम्झन लायक मानेका छन् । कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको समाजले जनाएको छ ।
कार्यक्रम समाजका अध्यक्ष सुनिल दोङको अध्यक्षता, सह-कोषाध्यक्ष अमृत तामाङको संयोजन तथा प्रचारप्रसार बिभाग प्रमुख रबिन तामाङ र हेमा लामाको सञ्चालनमा सम्पन्न भएको थियो।