तिलोत्तमा मणिग्राममा स्वर्गीय इन्द्र बहादुर थापाको स्मृतिमा यात्रु प्रतीक्षालय उद्घाटन

by समतल अनलाइन

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राम चोकमा यात्रु प्रतीक्षालयको उद्घाटन गरिएको छ। स्वर्गीय इन्द्र बहादुर थापा मगरको स्मृतिमा उनकी धर्मपत्नी पदम कुमारी थापा र परिवारले उक्त प्रतीक्षालय निर्माण गरेका हुन्।

मंगलबार आयोजित एक विशेष कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, वडा नं. ५ का वडाध्यक्ष रमेश डुम्रे, समाजसेवी, बुद्धिजीवी, स्थानीय बासिन्दा तथा थापा परिवारका सदस्यहरूको उपस्थितिमा प्रतीक्षालय उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले यात्रु प्रतीक्षालय जस्तो महत्वपूर्ण संरचना निर्माण गरी आम यात्रुहरूको सुविधाका लागि योगदान पुर्‍याएकोमा थापा परिवारलाई धन्यवाद ज्ञापन गरे।

उनले स्वर्गीय इन्द्र बहादुर थापा मगरको स्मृतिमा गरिएको यो कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै अन्य समाजसेवीहरूलाई पनि यस्ता कार्यमा अघि बढ्न प्रेरित गरे।

वडाध्यक्ष रमेश डुम्रेकोले, “यात्रु प्रतीक्षालय यात्रुहरूको लागि ठूलो राहतको रूपमा रहनेछ। यो प्रतीक्षालयले गर्मी, वर्षा वा कुनै पनि मौसममा यात्रुहरूलाई सुरक्षित रूपमा बस्न र प्रतीक्षा गर्न सहज बनाउनेछ।” उनले सार्वजनिक हितका यस्ता संरचनाहरू निर्माण गर्न स्थानीय समुदायको पनि सहकार्य आवश्यक रहेको बताए।

श्रीमती पदम कुमारी थापा मगरले आफ्नो दिवंगत श्रीमान् इन्द्र बहादुर थापा मगरको सम्झनामा समाजसेवाको रूपमा प्रतीक्षालय निर्माण गरिएको बताइन्। “मेरो श्रीमान्को सम्झनामा समाजका लागि केही योगदान दिन चाहन्थ्यौं। यो प्रतीक्षालय यात्रुहरूका लागि उपयोगी बन्नेछ भन्ने आशा राखेको छु,” उनले भनिन्।

उनका परिवारजनले पनि सामाजिक कार्यमा संलग्न रहन पाउँदा गर्व महसुस गरेको बताए। स्थानीय बासिन्दाहरूले यात्रु प्रतीक्षालय निर्माणले यात्रुहरूको लागि ठूलो राहत हुने भन्दै थापा परिवारको योगदानको प्रशंसा गरे।

कार्यक्रममा समाजसेवी मीन प्रसाद अधिकारी , दिल बहादुर रायमाझी ,मोहन भण्डारी, स्थानेश्वर बस्याललगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समाजसेवी अधिकारीले भने, “यस्ता समाजोपयोगी संरचनाहरूले यात्रुहरूलाई मात्र नभई समग्र नगरलाई नै सुन्दर बनाउन सहयोग गर्छन्। स्थानीय व्यक्तिहरूले समाजको हितमा सोच्नु र योगदान गर्नु प्रेरणादायी विषय हो।”

यस प्रतीक्षालयको निर्माणले यात्रुहरूलाई सुरक्षित रूपमा बस्न, आराम गर्न र सार्वजनिक सवारीको प्रतीक्षा गर्न सहज बनाउने विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै व्यक्तिगत तथा पारिवारिक स्मृतिहरूलाई समाजसेवामा रूपान्तरण गर्ने यो कार्य उदाहरणीय बनेको छ।

 
 
  
 

You may also like