चितवन पुगे रवि लामिछाने, कहिले हुन्छन् अदालतमा उपस्थित ?

by समतल अनलाइन
Shares

काठमाडौं । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना अभियोगमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन पुगेका छन् । लामिछाने गए राति नै स्थलमार्ग हुँदै चितवन पुगेको रास्वपा जिल्ला सभापति कृष्ण भुसालले जनाएका छन् ।

उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने नहुने टुंगो नभएको भुसालले बताएका छन् । रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ । यता पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई ठगी मुद्दामा मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेपछि सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार लामिछानेविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता गरेको थियो । महान्यायाधिवक्ता रमेश बडालले लुइँटेलको सरुवा गरेका हुन् । उनलाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ । चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । प्रहरीले संगठित अपराध र ठगी दुबै मुद्दा लगाउन सुझाव दिए पनि लामिछानेलाई सरकारी वकिल कार्यालयले ठगीमा मात्र मुद्दा दर्ता गरेको छ ।

सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिए पनि लुइँटेलको डेढ वर्ष नपुग्दै काज सरुवा गरिएको स्रोतले बतायो। ‘बढुवा भएर जाने बाहेक सामान्यतया दुई वर्ष नपुग्दै सरुवा हुँदैन । उहाँले अघिल्लो वर्ष कात्तिक २० गतेदेखि चितवनमा जिम्मेवारी सम्हाल्नु भएको थियो,’ स्रोतले भन्यो, ‘२०८१ माघ २२ गते बेलुका सात बजेतिर काज सरुवाको चिठी आयो ।’

You may also like

This will close in 0 seconds