बुटवल। रुपन्देहीको तिलोत्तमामा रहेको श्रृङ्गेश्वर धाममा धार्मिक पर्यटन प्रवर्द्धन तथा गुरुयोजना अनुरूप पूर्वाधार निर्माणका लागि आर्थिक संकलन गर्न महायज्ञको आयोजना गरिँदै छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो।
१८ कठ्ठा क्षेत्रफलमा फैलिएको धाम परिसरभित्र जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि आवश्यक आर्थिक संकलन गर्ने उद्देश्यले आगामी माघ २४ गतेदेखि फागुन २ गतेसम्म “श्रीमद्भागवत ज्ञान–विज्ञान श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती” गरिने श्रृङ्गेश्वर धाम एवम् महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनुभयो।
महायज्ञको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बिहीबार गर्नुहुनेछ। सो अवसरमा विहान शोभायात्रासहित कलश यात्रा निकालिनेछ। जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेका अनुसार पण्डित ओमप्रकाश सुवेदीको मुखारबिन्दुबाट कथा प्रवचन गराइनेछ।
प्रचारप्रसार समितिका संयोजक पत्रकार खिमानन्द भट्टराईका अनुसार महायज्ञ अवधिभर योग तथा ध्यान, नित्य पूजा–पाठ, दिउँसो कथा प्रवचन, साँझ श्रृङ्गारिक दिव्य महाआरती, राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित देवलिलामय झाँकी र भजन कार्यक्रम गरिनेछ।
यसबाहेक, ब्रतबन्ध, चौरासी पूजा, ग्रहशान्ति, तुलादान, रुद्राभिषेक लगायतका विशेष धार्मिक अनुष्ठानहरू समेत गरिनेछन्। गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण पन्थले महायज्ञमा उपस्थित भई संगीतमय कथा श्रवण गर्न र सकेसम्म दानदातृत्व गर्न सबैलाई आह्वान गर्नुभएको छ।