बुटवल ।नेवार समुदायको परम्परागत धार्मिक एवं सांस्कृतिक संस्कार अनुसार सामूहिक बेल विवाह (ईही यज्ञ) र बालकहरूको ब्रतबन्ध (क्येटा पूजा) विधिपूर्वक सम्पन्न भएको छ। नेवा: सेवा समिति बुटवल देविनगर को आयोजनामा आइतबार र सोमबार दुई दिने यो भव्य कार्यक्रम सम्पन्न भएको हो।
नेवा: सेवा समितिले २०६५ सालदेखि निरन्तर रूपमा हरेक दुई वर्षमा आयोजना गर्दै आएको यो कार्यक्रम यसपटक १५औँ शृङ्खला हो। कार्यक्रमको मुख्य पुरोहितका रूपमा नेवारी संस्कृतिमा दखल राख्ने नेवार पुरोहित हरि शरण राजोपाध्याय ले विधिपूर्वक पूजा सम्पन्न गराएका थिए।
सामूहिक संस्कारमा ५१ जना कन्याहरूको बेल विवाह (ईही यज्ञ) तथा १५ जना बालकहरूको ब्रतबन्ध (क्येटा पूजा) विधिपूर्वक सम्पन्न गरिएको थियो। यस पटक ३ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरू सहभागी भएका थिए।
बेल विवाह (ईही यज्ञ) नेवार समुदायको अत्यन्तै महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक संस्कार हो। यो संस्कार कन्याहरूले किशोरावस्थामा प्रवेश गर्नु अघि सम्पन्न गरिन्छ। यस संस्कारमा कन्याहरूले बेल (ऐग्लु) सँग विवाह गर्छन्, जुन शिव भगवानको प्रतीक मानिन्छ।
त्यस्तै, ब्रतबन्ध (क्येटा पूजा) बालकहरूको लागि गरिने हिन्दू संस्कार हो, जसलाई नेवार समुदायमा पनि विशेष महत्व दिइन्छ। यस संस्कारले बालकलाई औपचारिक रूपमा धर्म, संस्कार र कुल परम्परासँग जोड्ने विश्वास गरिन्छ।
यस वर्षको कार्यक्रममा स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, नवलपरासी, कपिलवस्तु, नवलपुर लगायत विभिन्न जिल्लाबाट बालबालिकाहरू तथा अभिभावकहरू सहभागी भएका थिए।
कार्यक्रमका अवसरमा नेवा: सेवा समिति बुटवलका प्रमुख पदाधिकारीहरूले नेवार समुदायको संस्कार संरक्षण र यसको महत्वबारे आ-आफ्नो धारणा राखे।
“सामूहिक रूपमा बेल विवाह तथा ब्रतबन्ध गराउँदा समाजमा एकता बढ्नुका साथै परम्परागत संस्कृतिको संरक्षणमा ठुलो योगदान पुग्छ। यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन सके हाम्रो संस्कार भावी पुस्तामा हस्तान्तरण गर्न सजिलो हुन्छ।” उनले आगामी वर्षहरूमा अझ भव्य रूपमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।]
“नेवार समुदायका लागि बेल विवाह (ईही यज्ञ) र ब्रतबन्ध (क्येटा पूजा) अत्यन्तै पवित्र तथा अनिवार्य संस्कार हो। आधुनिक समयमा पनि हाम्रो समुदायले आफ्ना संस्कार जोगाउन आवश्यक छ, त्यसैले हामीले यस कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका छौं।”
“समाजमा आधुनिकताको प्रभाव परे पनि परम्परागत संस्कारहरूको महत्व झन् बढ्दै गएको देखिन्छ। संस्कृतिलाई बचाइराख्न यस्ता कार्यक्रमहरू अनिवार्य छन्। हाम्रो प्रयास नेवार समुदायलाई आफ्नो मौलिक संस्कारप्रति सचेत बनाउनु हो।”
“यस वर्षको कार्यक्रममा अभिभावक तथा समुदायको चासो झन् बढेको देखियो। सामूहिक विधिबाट यो संस्कारलाई निरन्तरता दिँदा सबैका लागि सहज हुन्छ। यसलाई अझ व्यवस्थित र भव्य रूपमा गर्दै लैजाने हाम्रो योजना छ।”
“नेवा: सेवा समितिले यो परम्परालाई बचाइराख्न खेलेको भूमिकाको प्रशंसा गर्नैपर्छ। नेवार संस्कृतिको जगेर्नाका लागि यस्तो कार्यक्रम आवश्यक छ। आगामी वर्षहरूमा अझ धेरै सहभागीको अपेक्षा गरेका छौं।”
कार्यक्रममा अमेरिकाको ओमाहा, नेब्रास्का स्टेटबाट आएका राजेन्द्र श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए। उनले नेवार समुदायको संस्कृति र परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै आयोजकहरूलाई बधाई तथा शुभकामना दिए।