नेवा: देय दबु लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

by समतल अनलाइन

बुटवल । नेवा: देय दबु लुम्बिनी प्रदेशको भेला तथा तेस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै नेवार जाति तथा सभ्यताको पहिचान, भाषा, लिपि, इतिहास, संस्कृतिको प्रवर्द्धन र संरक्षणका विषयमा व्यापक छलफल गरेको छ। वक्ताहरूले नेवार समुदायलाई बलियो बनाउन साझा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद भोजप्रसाद श्रेष्ठले नेवार समुदाय कुनै साधारण जात नभई एक ऐतिहासिक सभ्यता भएको उल्लेख गरे। उनले नेपाल राज्य निर्माणमा नेवार समुदायको योगदान अतुलनीय रहेको बताउँदै इतिहासको अध्ययन गरेर नयाँ पुस्तालाई यसको सही जानकारी दिनुपर्ने बताए। नेवा: देय दबु केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र प्रसाद लिगलले नेवार जातिको पहिचानलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताए। उनले भाषा, लिपि र संस्कृति संरक्षणका लागि नीति निर्माण गर्न सरकारलाई आग्रह गरे। जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष इन्द्र रायले जनजातिहरूको हकअधिकार स्थापित गर्न नेवार समुदायले थप पहल गर्नुपर्ने बताए। जनजाति महासंघका प्रतिनिधि मनोज रानाले वर्तमान पुस्ताले आफ्नो पहिचान, भाषा र संस्कृति संरक्षणमा ध्यान दिन नसकेकोमा चिन्ता व्यक्त गरे। नेवा: देय दबु केन्द्रिय महासचिव सत्य नारायण डङोलले देशभर ६६ जिल्लामा नेवा: देय दबुको शाखा रहेको जानकारी गराउँदै नेवार सभ्यता र संस्कृतिको अध्ययन गर्न युवालाई प्रेरित गर्ने योजना रहेको बताए।

कार्यक्रममा प्रस्तुत विभिन्न तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा करिब ६८ हजार भन्दा बढी नेवार समुदायका व्यक्ति बसोबास गर्छन्। उनीहरू मुख्य रूपमा बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज तथा अन्य सहरहरूमा केन्द्रित छन्। तर, पछिल्लो समय विभिन्न व्यवसायिक, शैक्षिक तथा रोजगारीका कारण ग्रामीण भेगहरूमा पनि नेवार समुदाय फैलिएको छ।

तेस्रो अधिवेशनले बाबुराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सुशिला श्रेष्ठ, उपाध्यक्षमा डा. अरुण कुमार श्रेष्ठ, प्रमुख सचिवमा अशोक कुमार श्रेष्ठ, महिला सचिवमा शशी श्रेष्ठ, सचिवमा उपेन्द्र भान प्रधान, कोषाध्यक्षमा वसन्ता श्रेष्ठ, महिला सदस्यहरूमा निर्मला श्रेष्ठ र शिवा श्रेष्ठ रहेका छन्। यस्तै, सदस्यहरूमा वसन्त कुमार श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कुमार श्रेष्ठ, मुक्त प्रसाद श्रेष्ठ, यज्ञ प्रसाद श्रेष्ठ, सर्मा प्रसाद श्रेष्ठ, सुशिला श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, जीवन श्रेष्ठ र डम्बर कुमार श्रेष्ठ चयन भएका छन्।

नेवार समुदायको भाषा, संस्कृति र पहिचानबारे अझै धेरै अनुसन्धान गर्नुपर्ने वक्ताहरूले औंल्याए। “हामीकहाँ इतिहास छ, तर त्यो व्यवस्थित रूपमा लेखिएको छैन। नेवार समुदायको योगदानलाई सही रूपमा इतिहासमा दर्ज गराउन जरुरी छ,” पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले भने। “जहाँ नेवार छन्, त्यहाँ बजार र व्यापार फस्टाउँछ।” यो भनाइले नेवार समुदायको व्यवसायिक क्षमताको उजागर गर्छ। नेपालकै पुरानो व्यवसायिक समुदायमध्ये एक नेवारहरूले नेपालका विभिन्न सहरहरूको निर्माण, विकास तथा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका छन्।

कार्यक्रममा नेवार संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न योजना अघि सारिएको छ। विशेष गरी नेवार भाषाको प्रवर्द्धन, सांस्कृतिक उत्सवहरूको निरन्तरता, इतिहासको अध्ययन तथा नयाँ पुस्तालाई मौलिक परम्परा सिकाउने विषयलाई विशेष प्राथमिकता दिइएको छ।

कार्यक्रममा सहभागी युवाहरूले नेवार समुदायको परम्परा, भाषा र संस्कृति संरक्षणका लागि प्रविधि तथा डिजिटल मिडियाको प्रयोग गर्नुपर्ने बताए। “हामी हाम्रो इतिहासलाई किताबमा मात्र सीमित राख्ने होइन, डिजिटल माध्यमबाट पनि प्रचार गर्न आवश्यक छ,” एक सहभागीले भने। कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागिहरूले नेवार समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने संकल्प व्यक्त गरे।

 
 
  
 

You may also like