रुपन्देही । ब्रिटिस एजुकेशन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल, रुपन्देही (नमस्ते एकेडेमी) मा सरस्वती पूजाको अवसरमा माघ २१ गते नयाँ विद्यार्थीहरूको अक्षरारम्भ तथा साहित्यिक महोत्सव आयोजना हुने भएको छ।
वरिष्ठ लेखक तथा साहित्यकार जंगबहादुर शाहको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रममा विद्यालयका साहित्य अनुरागी विद्यार्थीहरूसँग मोफसलका साहित्यिक व्यक्तित्वहरूले छलफल गर्ने कार्यक्रम तय गरिएको छ। विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीका अनुसार, “साहित्य समाजको ऐना हो। यसले विद्यार्थीलाई सृजनशील बनाउँछ। यही उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।”
कार्यक्रममा विशेष रूपमा पुस्तक लेखन, कथा लेखन तथा पुस्तक प्रकाशनका विषयमा विद्यार्थी र साहित्यकारबीच छलफल गरिनेछ। साथै, नेपाली साहित्यमा युवाको भूमिका, लेखक बन्ने प्रक्रिया, स्टोरी टेलिङ्गको कला तथा शैली, र कविता वाचन कलासम्बन्धी परिचर्चा आयोजना गरिने व्यवस्थापक उमेश कँडेलले जानकारी दिए।
हालका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्दछन्। उनीहरूको सृजनाको प्रदर्शनी पनि महोत्सवको विशेष आकर्षण हुने विद्यालयले जनाएको छ। पठन संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साना विद्यार्थीहरूले आफूले पढेका पुस्तकहरूको समीक्षा प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।
यस अवसरमा, कक्षा १० का विद्यार्थी प्रशान्त चौधरीको पुस्तक The Voice Within Me, कक्षा ७ का विद्यार्थी समशीतोष्ण अर्यालको Echo of Dragon’s Flame तथा प्राइमरी तहका ३२ जना विद्यार्थीको संयुक्त पुस्तक Whispers of Young Minds को विमोचन गरिनेछ। साथै, यी पुस्तकहरूको समीक्षा कार्यक्रम पनि गरिनेछ।
कार्यक्रममा लेखक तथा बालसाहित्यकारबीच अन्तरक्रिया हुनेछ। विद्यार्थीहरूको रुचि र स्तरअनुसार पुस्तक प्रदर्शनीसमेत गरिने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए। नेपाली संस्कृति, कला, साहित्य, भेषभूषा तथा परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सरस्वती बन्दना तथा विविध नेपाली लोकसंस्कृतिको प्रदर्शन गरिनेछ।
कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका साहित्यप्रेमी बालबालिकाले आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, माघ २१ गते अक्षरारम्भ गर्ने तथा सिट बुकिङ गर्ने विद्यार्थीहरूलाई विशेष रूपमा भर्ना शुल्क छुट प्रदान गरिने विद्यालयले जनाएको छ।