बुटवल। गरिब तथा जेहेन्दार बालबालिकाको शैक्षिक तथा नैतिक बिकासमा सहयोग पुराउने उद्देश्यसहित बुटवल १५ सेमलारमा श्रीमद् भागवत धन धान्यान्चल ज्ञान महायज्ञ २०८१ आयोजना गरिने भएको छ । आगामी फाल्गुण ४ गतेदेखि शुरुहुने सो महायज्ञमा दैनिक पुजाआजा, हवन, आरती लगाएतका धार्मिक कार्यहरु संचालन गर्नुका साथै पंडित भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्नुहुने कार्यक्रम छ ।
महायज्ञ आयोजक समितिद्धारा शनिबार यज्ञस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा उपसमिति संयोजकहरुलाई जिम्मेबारी प्रदान गर्ने कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले धार्मिक कार्यमार्फत सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित आयोजित महायज्ञले आफ्नो लक्ष हासिल गर्न सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । महायज्ञ संचालनका क्रममा र पुर्वाधार निर्माणका क्रममा स्थानिय जनसहभागिताको भुमिका महत्वपुर्ण हुने चर्चा गर्दै प्रमुख पाण्डेयले बालबालिकालाई लक्षित गरि शुरुगरिएको सो कार्यक्रमले बुटवललाई बालमैत्री बनाउने उपमहानगरको लक्ष पुरा गर्न सघाउ पुराउने उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रमुख कथावाचक पंडित कमलनयन गौतमले सभ्य समाज निर्माणका लागि आध्यात्मिक तथा धार्मिक गतिबिधीहरुको भुमिका महत्वपुर्ण हुने दावी गर्दै शिक्षाबाट कोही पनि बालबालिका बन्चित नहुन भन्ने उद्देश्य राखेर राष्ट्रिय परोपकार महासंघले अभियान संचालन गरिरहेको जानकारी गराउनु भयो । आफुले शुरु गरेको सो अभियानलाई सघाउन आग्रह गर्दै अभियान सफल भएमा राज्य पक्षलाई पनि ठुलो फाईदा हुने उहाँको भनाई थियो ।
राष्ट्रिय परोपकार महासंघ, रुपन्देहीले आयोजना गरेको सो महायज्ञ आयोजक समितिका अध्यक्ष हरिध्वज मल्ल, महासचिव बुद्धि प्रसाद ढकाल लगाएतले फागुन ११ गतेसम्म संचालन हुने सो महायज्ञ सफल पार्न सरकार र निजि क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । महायज्ञबाट संकलित नगद तथा भौतिक सामाग्रीबाट बालबालिकाको शैक्षिक बिकासका लागि योगदान पुराउने किसिमका कार्यक्रमहरु संचालन गरिने उहाँहरुले बताउनु भएको थियो ।