बुटवल। नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही जिल्लाको १२औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान र बुटवलको पहिचानबारे चर्चा गरे।
कोभिड संक्रमणको समयमा रक्त अभाव पूर्ति गर्न सामाजिक संघसंस्थाले खेलेको भूमिकाको स्मरण गर्दै उनले बुटवल सामाजिक भावनाले अगाडि रहेको दाबी गरे। साथै, ब्लड बैंकमा लाग्ने शुल्कलाई केही स्थानीय तहहरूले निःशुल्क घोषणा गरिसकेको उल्लेख गर्दै उनले यस अभियानलाई अन्य पालिकाहरूले पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य हबको रूपमा विकास गर्ने लक्ष्य अनुरूप स्वास्थ्य क्षेत्र र रक्तदान अभियानमा स्थानीय तहको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। ब्लड बैंकका लागि आवश्यक पर्ने उपकरणहरूको व्यवस्थापनमा स्थानीय तह सहयोग गर्न तत्पर रहेको उनले बताए।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले देशभर रक्तदाताहरूलाई संगठित गर्दै रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धिमा संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको बताए। नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदान अभियान स्वार्थरहित सेवामूलक भएकाले सबै संघसंस्थाहरू मिलेर काम गर्नुपर्ने धारणा राखे। “टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता” अभियान प्रभावकारी बनाउँदै लैजानुपर्ने उनले उल्लेख गरे।
नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै रक्तदान अभियानले देशविदेशमा रुपन्देहीको पहिचान स्थापित गराएको बताए। रक्तदानमा युवाहरूको संलग्नता आवश्यक रहेको बताउँदै, १८ वर्षमाथिका उमेर समूहलाई अभियानमा जोड्ने योजना अघि बढाइएको जानकारी गराए।
कार्यक्रमकै अवसरमा, नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र, बुटवल शाखामा विगत २६ वर्षदेखि रक्त संकलन, वितरण र सचेतनामा योगदान दिएका निरञ्जन राजभण्डारी तथा रक्तदाता युवाहरू कमल भण्डारी र सुमन घिमिरेलाई सम्मान गरिएको समाजका सचिव अर्जुन पौडेलले जानकारी दिए।
रुपन्देही व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश ढकाल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष अर्जुन ज्ञवाली, समाजका सल्लाकार डा. राजेन्द्रप्रसाद बस्याल, स्वयंसेवी रक्तदाताहरू मिठु टण्डन भण्डारी, प्रकाश खनाल र समाजका उपाध्यक्ष उदय भट्टराईले रक्तदान अभियानमा आइपर्ने चुनौती र स्थानीय सरकारबाट गर्नुपर्ने पहलबारे प्रकाश पारे।