फर्निचर व्यवसायीको माग: स्वदेशी काठ प्रयोगको नीति आवश्यक

by समतल अनलाइन

बुटवल। नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघ, लुम्बिनी प्रदेश समन्वयको दोस्रो वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ। “व्यवसायिक एकता, व्यवसायिक सफलता” नारासहित अगाडि बढेको महासंघको औपचारिक उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले गरे।

उद्घाटन समारोहमा उनले संघीय सरकारको प्रावधानअनुसार नै प्रदेश संरचना गठन गरी महासंघलाई सक्रिय बनाइएको बताए। फर्निचर व्यवसायीहरूलाई काठ खरिद गर्न नपाउने, टेन्डर प्रक्रियामा सहभागिता जनाउन नसक्ने जस्ता समस्याहरू समाधान गर्न लामो संघर्ष गर्नुपरेको उनले उल्लेख गरे। वन ऐन संशोधन गराउने काम निकै कठिन रहेको भन्दै उनले अब सरकारलाई थप दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार विभिन्न तहमा पुगेर व्यवसायीहरूको समस्या पहिचान गरी बुँदागत रूपमा माग तयार गर्ने तयारी भइरहेको छ। उनले बागमती प्रदेश सरकारले स्वदेशी काठजन्य उत्पादनलाई प्राथमिकता दिँदै कानुन निर्माण गरिसकेको उदाहरण प्रस्तुत गर्दै अन्य प्रदेशहरूले पनि त्यस्तै नीति अवलम्बन गर्नुपर्ने बताए।

कार्यक्रममा पारिवारिक निजी वन महासंघ रुपन्देहीका अध्यक्ष तथा महासंघका पूर्व अध्यक्ष विष्णु कुमार श्रेष्ठले व्यवसायिक संस्थाहरू प्रभावकारी रूपमा काम गर्न नसक्दा व्यवसायीहरू समस्यामा परेको बताए। उनका अनुसार, पारिवारिक निजी वनमार्फत हाल ८०% काठजन्य उत्पादन वितरण भइरहेको छ, जसले फर्निचर व्यवसायीहरूलाई यस क्षेत्रसँग अनिवार्य रूपमा जोडिनुपर्ने आवश्यकता दर्शाउँछ। साथै, नयाँ औद्योगिक क्षेत्र निर्माण नहुँदा उद्योगीहरू समस्यामा परिरहेको र दक्ष जनशक्तिको अभाव रहेको उनले बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले फिरन्ते व्यवसायीहरू व्यवसायिक चुनौती बनेको स्पष्ट देखिए पनि सरकारको ध्यान यसतर्फ नजानु दुखद रहेको बताए। उपभोक्तासँग प्रत्यक्ष जोडिएको व्यवसाय भएकाले निरन्तर छलफल र पहल आवश्यक रहेको उनको सुझाव थियो।

अर्घाखाँची फर्निचर व्यवसायी संघका अध्यक्ष बसन्तराज भुषालले फर्निचर व्यवसायीहरूको हकहितमा संस्थाले आवश्यक पहल गर्नुपर्ने बताए। उनले उत्पादन, ढुवानीदेखि बजार व्यवस्थापनसम्मका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष सुरेन्द्र ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्दै महासंघका गतिविधिहरूको जानकारी गराए। स्वदेशी काठको उपयोग बढाउने नीति ल्याउन महासंघले प्रयास गरे पनि अपेक्षाकृत उपलब्धि हासिल नभएको उनले बताए। साथै, प्रत्येक प्रदेशमा फर्निचर ग्राम निर्माणका लागि पहल जरुरी रहेको उनको भनाइ थियो।

अन्य वक्ताहरूले पनि फर्निचर व्यवसायीहरूको समस्या उस्तै रहेको भन्दै सम्बन्धित निकायहरू एकजुट भई सरकारलाई दबाब दिने कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक, महासंघका केन्द्रीय उपाध्यक्ष ओम बस्नेत, महासंघका पूर्व संस्थापक उपाध्यक्ष सूर्य शर्मा सुवेदी, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डे, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि बहादुर खत्री, वन पैदावर संघ रुपन्देहीका अध्यक्ष नवलकिशोर सिंह, महासंघका महासचिव तेज प्रसाद पराजुली लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like