बुटवल । सरसफाइ तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार बुटवलमा सम्पन्न फोहोर टिप्ने दौड प्रतियोगितामा इन्द्र थारुले प्रथम स्थान हासिल गरेका छन्। उपाधिसँगै उनले नगद ५५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्। लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले उनलाई पुरस्कार राशीको चेक हस्तान्तरण गरेका थिए।
क्लोथ एन्ड फुड बैंक नेपालले आयोजना गरेको ‘ट्रयास रेस, बुटवल’ दौड प्रतियोगिता बुटवलको कालिकापथस्थित क्लब डेनेभोबाट सुरु भई तीनकुने चोक, इट्टाभट्टी, सब्जी मण्डी, ट्राफिक चोक, भुड्कीचोक, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभो अगाडि आएर समापन भएको थियो।
प्रतियोगितामा निर्धारित १ घण्टाको अवधिमा इन्द्र थारुले ५० मिनेट २१ सेकेण्डमा सबैभन्दा बढी ७ किलो ६ सय ग्राम फोहोर संकलन गर्दै प्रथम स्थान प्राप्त गरे। दोस्रो स्थान हासिल गरेका आशिष थापाले ३० हजार रुपैयाँ जिते भने तेस्रो स्थानमा रहेका अजय पाण्डे क्षेत्रीले १५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्दै युवाहरुको सक्रिय सहभागिताले सकारात्मक सोचको विकास र परिवर्तन सम्भव हुने बताए। उनले बुटवलमा ट्राफिक व्यवस्थापन तथा सचेतनाका लागि विद्यालयका विद्यार्थी तथा युवाहरुलाई परिचालन गर्ने योजना रहेको उल्लेख गरे।
कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठका अनुसार वातावरणीय चेतना जगाउँदै सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जीसीले प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको जनाउँदै यसले समुदायलाई एकताबद्ध बनाउन तथा स्वच्छता र फोहोर व्यवस्थापनप्रति सचेत बनाउने अपेक्षा व्यक्त गरे।
प्रतियोगिताको मूल्याङ्कन तथा विजेता छनोट नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीको संयोजकत्वमा पत्रकार दिदेशकुमार श्रेष्ठ, डि.बी. सुस्लिङ लगायतका सदस्यहरुले गरेका थिए। कार्यक्रम सञ्चालन सुमन श्रेष्ठले गरेका थिए।