बुटवल। तामाङ समुदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होछार बुटवलमा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीको आयोजनामा मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले जातजातिहरू नगरको पहिचान भएको बताए। उनले नगरभित्रका सबै समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृति संरक्षण गर्न आग्रह गर्दै स्थानीय सरकारबाट आवश्यक आर्थिक सहयोगको प्रतिबद्धता जनाए। तामाङ समुदायको महत्वपूर्ण स्थल गुम्बा निर्माणका लागि यसवर्ष सहयोग गरिएको र आगामी दिनमा समेत निरन्तर साथ रहने बताए।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, रुपन्देहीका उपाध्यक्ष इन्द्र राई, नेपाल तामाङ घेदुङ लुम्बिनी प्रदेशका अध्यक्ष बिरमान लामा, नेवा पुच, नेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठलगायतले आदिवासी पहिचान जोगाउन सबै सरोकारवाला संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। नेपाल तामाङ युवा घेदुङका अध्यक्ष हसन्त लामाले नयाँ पुस्तालाई भाषा र संस्कृति सिकाउने अभियानमा संघसंस्थाहरूले अग्रसरता लिनुपर्ने बताए।
नेपाल तामाङ घेदुङ, रुपन्देहीका अध्यक्ष राजेश लामाका अनुसार चिनियाँ पात्रो र मञ्जुश्री संवत् २८५७ अनुसार पृथ्वीको गतिमा आधारित यो अन्तर्राष्ट्रिय सोनाम ल्होछार नेपालसहित चीन, जापान, दक्षिण कोरिया, उत्तर कोरिया, भारतलगायत विश्वका करिब २२ देशमा मनाइन्छ।
यसै अवसरमा बुटवल–११, बुद्धनगरमा निर्माण गरिएको छयू म्येह ज्याङ छ्यूप लिङ गुम्बा को आर्थिक सहयोगी जित बहादुर तामाङ र सुपजुङ तामाङलाई सम्मानपत्र प्रदान गरिएको नेपाल तामाङ घेदुङ, रुपन्देहीका सचिव शम्भु मोक्तानले जानकारी दिए।
यसअघि संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। रुपन्देहीमा तामाङ समुदायका करिब ५ सय घरधुरी र १० हजार जनसंख्या रहेको छ। साथै, भैरहवा इकाई र चरङे इकाईले आ–आफ्ना क्षेत्रमा छुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए।
सोनाम ल्होछारको अवसरमा तामाङ जातीय पहिरनसहित पुष्पलाल पार्कबाट सुरु भएको र्याली मणिमुकुन्द सेन उद्यानमा पुगेर समापन भएको थियो।