काठमाडौंमा सोनाम ल्होसारको रौनक

by समतल अनलाइन

काठमाडौं । तामाङ समुदायले आज नयाँ वर्षका रूपमा सोनाम ल्होसार पर्व मनाइरहेका छन् । पर्वका अवसरमा तामाङ समुदायले कुलपूजा, प्रकृतिपूजा र बुद्धका सन्देश स्मरण गर्नुका साथै आफन्तजन भेला भई खुसी साटासाट गर्छन् । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मोलगायतका जातिको मुख्य चाडका रूपमा रहेको सोनाम ल्होसार किसानहरूले बालीनाली भित्र्याई सकेपछि मनाउने गरिन्छ ।

ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष १२ वटा भएको विश्वास गर्छन् । १२ वर्षको नाम पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको हुन्छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष पर्दछन् । यी १२ वर्गलाई यो समुदायले १२ राशिको रूपमा पनि लिने चलन छ । १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । सोनाम ल्होसारका अवसरमा काठमाडौंको शान्तिबाटिकाबाट टुँडिखेलसम्म सोनाम ल्होछार र्‍याली निकालिएको छ । सोनाम ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत विभिन्न दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।

 
 
  
 

You may also like