सामाजिक सञ्जालमा झूटको हावी, सत्यलाई छायाँमा पार्दै: प्रवक्ता महत

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना र नकारात्मक प्रचारका कारण परम्परागत राजनीतिक दलहरूप्रति जनताको विश्वास कमजोर हुँदै गएको बताएका छन्।

नेपाली कांग्रेस रुपन्देही-२ क्षेत्रीय समितिले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले हाल सामाजिक सञ्जालमा सत्य तथ्य भन्दा झुटा र अतिरञ्जित खबरहरू व्यापक रूपमा फैलन थालेको उल्लेख गरे। उनका अनुसार, विशेष गरी युवापुस्ता सामाजिक सञ्जालमा प्रस्तुत सामग्रीप्रति बढी विश्वास राख्ने भएकाले गलत सूचनाहरू सहजै प्रभावशाली बन्ने गरेका छन्।

डा. महतले सामाजिक सञ्जालले सत्यलाई तोडमोड गरी झुट जस्तो देखाउने र झुटलाई सत्य जस्तो बनाउने प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरे। उनले यस्ता प्रवृत्तिहरूले समाजमा नकारात्मक सोचको विकास गरिरहेको र यसलाई सुधार गर्न सचेत नागरिकले भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनका अनुसार, नेपाली कांग्रेस देशका लागि एकमात्र स्थायी र विश्वसनीय राजनीतिक शक्ति हो, जसले मुलुकलाई सही दिशामा लैजान सक्छ। उनले पार्टीभित्र कुनै असन्तुष्टि वा समस्या भए समाधानका लागि आन्तरिक छलफल र संवादमार्फत निकास खोज्नुपर्ने बताए।

डा. महतले पार्टीलाई थप सबल बनाइराख्न नेतृत्व र कार्यकर्ताहरूबीचको सहकार्य अझै मजबुत बनाउने आवश्यक रहेको उल्लेख गर्दै सांगठनिक सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले संगठनलाई अझ प्रभावकारी बनाइराख्न समस्या भएका स्थानहरूमा विशेष ध्यान दिई समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। साथै, नेपाली कांग्रेसलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकर्ताले एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे।

 
 
  
 

You may also like