महिला पत्रकारलाई सुत्केरी भत्ता, पत्रकार महासंघ रुपन्देहीको आर्थिक सशक्तिकरण योजना सार्वजनिक

by समतल अनलाइन

बुटवल। नेपाल पत्रकार महासंघ, रुपन्देहीले महिला पत्रकारहरूका लागि १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। लुम्बिनीमा सम्पन्न महासंघको दुई दिने कार्ययोजना बैठकले महिला पत्रकार सुत्केरी भएको अवस्थामा ५ हजार रुपैयाँ आमा तथा शिशुको पोषण र स्वास्थ्यका लागि तथा ५ हजार रुपैयाँ नवजात शिशुको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था मिलाएको महासंघका अध्यक्ष दिनेश पाण्डेयले जानकारी दिए।

सुत्केरी भत्ताको नवजात शिशुको खातामा जम्मा गरिने रकम पुरुष पत्रकारका सन्तानलाई पनि प्रदान गरिने उल्लेख गरिएको छ। यही माघ १५ र १६ गते आयोजित कार्ययोजना बैठकले पत्रकारहरूको क्षमता विकास, आर्थिक सशक्तिकरण र सञ्चारगृहलाई आर्थिक रूपमा सबल बनाउने योजनाहरू अघि सारेको छ।

पत्रकारहरूको आर्थिक सशक्तिकरणका योजना
महासंघले कल्याणकारी कोषलाई ४० लाख रुपैयाँभन्दा बढी पुर्याउने र ३० लाख रुपैयाँको लेखनवृत्ति कोष स्थापना गर्ने लक्ष्य लिएको छ। संघीय, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरी पत्रकारका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गरिने महासंघका सचिव सीपी खनालले जानकारी दिए।

कोषाध्यक्ष नरेश केसीका अनुसार, महासंघले तीन वर्षभित्रमा कम्तीमा ३० लाख रुपैयाँको लेखनवृत्ति कोष स्थापना गरी पत्रकारको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ। बैठकमा पारित योजनाहरूलाई वार्षिक कार्यतालिका बनाएर व्यवस्थित रूपमा कार्यान्वयन गरिने उपाध्यक्ष विश्वास ढकालले बताए।

सञ्चार क्षेत्रका विकृति नियन्त्रणबारे छलफल
महासंघले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका विकृति, सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहिता र कानूनी प्रावधानबारे समेत गम्भीर छलफल गरेको उपाध्यक्ष अस्मिता पाण्डेले जानकारी दिइन्।

साथै, सवारी साधनहरूमा अनधिकृत रूपमा ‘प्रेस’ लेख्ने प्रवृत्ति बढेको भन्दै महासंघले आफ्ना सदस्यहरूलाई सवारी साधनमा ‘प्रेस’ नलेख्न र लेखिएको भए मेटाउन निर्देशन दिएको छ। गैर-सञ्चारकर्मीहरू प्रेसको नाम दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएकाले सञ्चारकर्मीको गरिमा जोगाउन सबै पक्षको साझा पहल आवश्यक रहेको महासंघले जनाएको छ।

 
 
  
 

You may also like