‘सफा सहर, हाम्रो रहर’: बुटवलमा ट्रास रेस प्रतियोगिता हुने

by समतल अनलाइन

बुटवल । बुटवललाई सफा र वातावरणमैत्री सहर बनाउने उद्देश्यले माघ १९ गते ‘ट्रास रेस प्रतियोगिता’ आयोजना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको सहकार्य र ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक बुटवलले यो प्रतियोगिता सञ्चालन गर्ने भएको हो।

पत्रकार सम्मेलनमार्फत आयोजक संस्था क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिए। उनले युवाहरुलाई सफाई अभियानमा प्रेरित गर्न र मनोरञ्जनमार्फत जागरूकता फैलाउन प्रतियोगिता आयोजना गरिएको बताए। काठमाडौँमा सफाई अभियान सञ्चालन गर्दा भएको अनुभवलाई बुटवलमा लागू गर्दै नयाँ अवधारणाको थालनी गरिएको उनको भनाइ छ।

१६ वर्षभन्दा माथिका युवाले सहभागी हुन पाउने।
दर्ता: निःशुल्क फारममार्फत अहिले नै ८५० जनाले दर्ता गरिसकेका छन्। लक्ष्य करिब १५०० जना भन्दा सहभागिता रहने छ।

प्रतियोगितामा उत्कृष्ट तीन समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम पुरस्कार: नगद रु ५५,०००, द्वितीय पुरस्कार: नगद रु ३०,००० र तृतीय पुरस्कार: नगद रु १५,००० रहेको छ।

प्रतियोगिता लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भई कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा समाप्त हुने कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठ बताए।

६ किलोमिटरको दूरी पार गर्न एक घण्टाको समय तोकिएको छ।
उनका अनुसार सहभागी दुई जनाको समूहमा रहनेछन्। एकले प्लास्टिकजन्य फोहोर उठाउने र अर्काले झोलामा राख्नेछन्।

कार्यक्रमका सल्लाहकार राजीव गौतमले यो प्रतियोगिताले वातावरणीय सचेतना अभिवृद्धि गर्दै बुटवललाई सफा र हरित सहर बनाउने प्रयासलाई गति दिने विश्वास व्यक्त गरे। बुटवलबाट सुरु भएको यो सफाई अभियानले देशभरका अन्य स्थानलाई पनि प्रेरित गर्ने उनको भनाइ छ।

यस प्रतियोगिताले सफाईप्रति युवाहरुलाई जिम्मेवार बनाउनका साथै वातावरण जोगाउनका लागि समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 
 
  
 

You may also like