संघीयताविरुद्ध जनमोर्चाको आन्दोलन: राजधानी केन्द्रित कार्यक्रम घोषणा

by समतल अनलाइन

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज नगरे देश गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्। मंगलबार बुटवलमा आयोजित ‘संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’ घोषणा कार्यक्रममा बोल्दै उनले संघीयताका कारण मुलुक दयनीय अवस्थामा पुगेको दाबी गरे।

प्रतिनिधिसभाका सदस्य समेत रहेका अध्यक्ष केसीले मधेश प्रदेशमा ८ जिल्ला भएर पनि २० मन्त्री रहेको अवस्थालाई विकृतिको उदाहरण दिएका छन्। उनले भने, “प्रदेश सरकारहरूमा विकृति, वेथिति र अनियमितता व्यापक देखिएको छ। देशलाई बचाउन प्रदेश खारेज गर्नुपर्छ।”

केसीले संघीयता स्वीकार गरेका ठूला दलहरू आफैं यसबाट पार लाग्न नसक्ने निष्कर्षमा पुगेको बताए। तर, दलहरूले यो विषयमा खुला रूपमा बोल्न नसकेको उनको भनाइ छ। “राजनीति अब कमाउने माध्यम जस्तो बनेको छ। यही कारण जनतामा राजनीतिप्रति आक्रोश र निराशा छ,” उनले भने।

अध्यक्ष केसीले ग्रामीण क्षेत्रमा जनताको राजनीतिप्रतिको चासो घटेको उदाहरण दिँदै भने, “म बाग्लुङबाट बुटवल आएँ। गाउँहरू रित्तिएका छन्। बस गाडी पनि खाली हिँड्नुपरेको छ। यो अवस्था गम्भीर चिन्ताको विषय हो।”

कार्यक्रममा केसीले रवि लामिछानेको बारम्बार गृहमन्त्री बन्ने प्रयासलाई सहकारी काण्डबाट जोगिने रणनीति भएको टिप्पणी गरे।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले चैत्र २४ देखि ३० गतेसम्म संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल बनाउन विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ।

रुपन्देही अध्यक्ष टानबहादुर केसीले पत्रकार सम्मेलनमार्फत आन्दोलनको योजना प्रस्तुत गरे। मंसिर महिनाभर जिल्ला र टोल तहका बैठक र भेलाहरू हुने जानकारी दिए। यस्तै, पर्चा वितरण, भित्ते लेखन, जभेटघाट, र माघ १० देखि १२ सम्म जिल्लाभर घुम्ति कोणसभा आयोजना गरिने बताए।

फागुन ३ गते बुटवलदेखि सुनौलीसम्म मोटरसाइकल र्याली गर्ने योजना रहेको पनि उनले जानकारी दिए। पुस २१ देखि फागुन १० गतेसम्म संगठन विस्तार र अभियानलाई तीव्रता दिने कार्यक्रम रहेको छ।

माघ ५ गते बुटवलमा राजनीतिक पार्टी, संघसंस्थाका प्रतिनिधि र प्रबुद्ध व्यक्तिहरूसँग उत्साहजनक उपस्थितिमा अन्तरक्रिया सम्पन्न गरिसकेको जनाइएको छ। जनमोर्चाले संघीयताविरुद्धको यो आन्दोलनलाई प्रभावकारी बनाउन व्यापक जनसंपर्क र संगठनात्मक गतिविधिमा जोड दिएको छ।

 
 
  
 

You may also like