संविधान संशोधनको विषयमा छलफल अघि बढिसक्यो : गृहमन्त्री लेखक

by समतल अनलाइन

विराटनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका विषयमा छलफल अघि बढिसकेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनको विषय अगाडि बढिसकेको बताएका हुन् ।

‘विषयवस्तुहरूको पहिचान गर्ने, संविधानको सबल र दुर्बल पक्षहरूलाई पहिचान गर्ने कामहरू भइरहेका छन्’, उनले भने, ‘सबै राजनीतिक दलहरूको बीचमा राजनीतिक संवाद गरेर नै हामी अगाडि बढ्छौं ।’ चरणबद्ध रूपमा अगाडि बढाएर संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताए । उनले राजनीतिक दलसम्बन्धीको अध्यादेश पनि आउने जानकारी दिए । अध्यादेशका विषयमा भने उनी थप बोल्न चाहेनन् ।

उनले यसअघि सरकारलाई तत्काल चाहिने अध्यादेश मात्रै ल्याएको बताए । अध्यादेशका विषयमा कतै विवाद नरहेको गृहमन्त्री लेखकको दाबी छ । काठमाडौंबाट एउटै जहाजमा गृहमन्त्रीसँग विराटनगर पुगेका कांग्रेस नेता डा. शेखर कोइरालाले भने पत्रकारसँग कुराकानी गर्न मानेनन् ।

 
 
  
 

You may also like