हरिश ढकाल
बुटवल । आफ्ना बाबु स्व.अग्नीधर शर्माको स्मृतिमा छोराहरुले बुटवल ३ गोलपार्कमा प्रतिक्षालय सहित पुस्तकालय निर्माण गरेका छन् । गुल्मी जिल्लाको कालिगण्डकी गाँउपालिका ७ भुर्तङ्ग छापचौर घर भै हाल बुटवल उपमहानगरपालिका ३ विपि पथ, रामापिथेकस प्रगतिटोल निवासी धर्मपत्नीहरिकला शर्मा तथा छोराहरु सागर शर्मा र हिमोड शर्माले गोलपार्कमा प्रतिक्षालयसहित पुस्तकालयको निर्माण गरेका हुन ।
करिब डेढलाख रुपैयाँ लागतमा निर्मित गोलपार्क प्रतिक्षालय सहित पुस्तकालयको उद्घाटन गर्दै वडा अध्यक्ष विष्णु प्रसाद ढकालले स्थानिय र यात्रुलाई सहयोग गुराउने उद्देश्यसहित निजि क्षेत्रबाट योगदान गर्न आवश्यक रहेको बताए । गोलपार्कमा आवश्यक रहेको प्रतिक्षालयसहितको पुस्तकालयले स्थानिय समुदायका साथै यात्रुहरुलाई समेत लाभ पुराउने उल्लेख गर्दै अध्यक्ष ढकालले सामाजिक क्षेत्रमा काम गर्न युवाहरु जागरुक हुनुपर्ने धारणा राखेका थिए । राज्यको बिकास निर्माणको अवधारणा अनुरुप स्थानिय समुदायबाट पनि सहयोगको अपेक्षा गरिएको उनले बताए ।
स्थानिय समुदाय र बाटो हिड्ने यात्रुहरुलाई घाम पानीबाट सुरक्षित गर्न र सवारी साधनको प्रतिक्षा गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ प्रतिक्षालयको निर्माण गरिएको स्व. शर्माका छोरा सागर शर्माको भनाई छ । शर्माले प्रतिक्षालयमा बस्ने यात्रु तथा बटुवाहरुलाई पुस्तक पढ्ने बानीको विकास गर्नका लागि पनि पुस्तकालय समेत निर्माण गरेको बताए ।
सो अवशरमा द्ुर्गाभवन मा.वि. छापचौरका पुर्व प्रध्यानाध्यापक पुण्यप्रसाद गौतम, पूर्व शिक्षक काशिराज पौडेल, बुटवल नगरपालिकाका पूर्व मेयर पुनाराम पोख्रेल, लायन्स क्लवअफ बुटवल सिटिका अध्यक्ष प्रकाश खनाल लगाएतले बोल्दै छोराछोरीले जन्मदाताको सम्झनामा गरिएको यो पुण्यको काम भएकाले अरुले पनि यसबाट सिक्नुपर्ने बताएका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको समाजमा सधैं स्मरणिय रहने बताउदै उनिहरुले छोराछोरीलाई आमाबाबुले सँस्कार सहितको शिक्षा प्रदानगर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरु पवित्रा श्रेष्ठ, रतिमाला विक, सामुदायिक प्रहरी विटका लोकबहादुर जिसी, समाजसेवी माया ढकाल, सुरेन्द्र मान भारीलगाएतको सहभागितामा आयोजित कार्यक्रममा संयुक्त भुपु सैनिक महासंघका महासचिव कुलबहादुर केसी, सुमन श्रेष्ठ लगाएतले पुस्तकालयमा पुस्तक हस्तान्तरण गरेका थिए ।
गुल्मी स्थित द्ुर्गाभवन मा.वि.छापचौरका पूर्व प्रधानाध्यापक समाजसेवी स्व.शर्माले सामाजिकरुपमा पनि थुप्रैकामहरु गर्दै आउनु भएको थियो । साविकको भुर्तुङ्ग गाबिस छापचौरमा रहेर शिक्षा र स्वास्थ्यक्षेत्रमा समेत योगदान पुराउनु भएका शर्माका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । प्रतिक्षालयको उद्घाटनका अवसरमा बुटवल ३ ज्योतिनगरमा रहेको जनज्योति आधारभुत विद्यालयका छात्र छात्राहरुलाई पुस्तक तथा स्टेशनरीका सामाग्रीहरु पनि वितरण गरिएको थियो ।