शुद्धोधनमा दुई महिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न

by समतल अनलाइन

नगेन्द्र केसी
शुद्धोधन। रुपन्देहीको शुद्धोधन गाउँपालिकामा संचालित दुई महिने एडभान्स सिलाई कटाई तालिमको समापन कार्यक्रम शनिबार रिद्धीसिद्धी पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ। सामुदायिक सिकाइ केन्द्र फर्साटिकरको आयोजनामा र शुद्धोधन गाउँपालिका कार्यालय मानपकडीको आर्थिक सहयोगमा आयोजित यस तालिममा वडा नं. ४ का २० जना महिलाहरू सहभागी भएका थिए।

कार्यक्रमको अध्यक्षता सामुदायिक सिकाइ केन्द्र फर्साटिकरका अध्यक्ष रामेश्वरी सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्यालले श्रम र सीपले मानिसलाई आत्मनिर्भर बनाउन सक्ने भन्दै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले सहभागी महिलाहरूलाई समूह गठन गरी पसल सञ्चालन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न सुझाव दिनुभयो।

शुद्धोधन गाउँपालिका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले सीप सिकेर स्वरोजगार बन्ने महत्त्वलाई जोड दिँदै सीपले जीवनमा परिवर्तन ल्याउने धारणा राख्नुभयो। मेहनत र दृढताका साथ सिकेको सीपले सफलता दिलाउने उहाँको भनाइ थियो।

कार्यक्रममा कार्यपालिका सदस्य रुक्मणी चौधरी, भित्री गाउँ टोल विकास संस्थाका अध्यक्ष रोमाकान्त अधिकारी, सीएमसी अध्यक्ष गीता पाण्डे, फर्साटिकर आमा समूहकी अध्यक्ष कमला ढकाल, चामुण्डा सहकारीका अध्यक्ष शेरबहादुर काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नवराज आचार्यले राख्नुभएको थियो भने सामाजिक परिचालक अञ्जना रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

 
 
  
 

You may also like