बुटवल । मानव सेवा आश्रमले आश्रयविहीनहरुलाई सहयोग पुर्याउन तिलोत्तमा–५ मणिग्राममा निर्माणाधीन भवनलाई पूर्णता दिनका लागि ज्ञान महायज्ञको आयोजना गर्न लागेको छ। आगामी माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। महायज्ञ तिलोत्तमा–५ स्थित मणिग्राम सब्जी मण्डी नजिकै आयोजना गरिनेछ।
आश्रमको भवन निर्माणका लागि ३ करोडभन्दा बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको महासचिव शुसीला के.सी.ले बताइन्। यस भवनमा सडक मानवको उद्धार तथा व्यवस्थापनमात्र होइन, मानवता अध्ययन केन्द्रको स्थापना पनि गरिने संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहनेछन्। कार्यक्रममा विभिन्न धर्म, परम्परा, र संस्कृतिका पण्डित र गुरूहरूको सहभागिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक र झाँकी प्रदर्शन गरिनेछ। महायज्ञको प्रत्येक बिहान ५ देखि ७ बजेसम्म योग कक्षा पनि सञ्चालन हुनेछ।
महायज्ञ सफल बनाउन लोकनाथ भुसालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। महायज्ञ सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आयोजक समितिका अनुसार ५०० रुपैयाँदेखि १ करोड रुपैयाँसम्म योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिनेछ। विशेष योगदानकर्ताहरूको नाममा भवनका ब्लकहरू र कक्षहरूको नामकरण तथा शालिक निर्माणको योजना रहेको छ।
संयोजक भुसालका अनुसार भवन निर्माणमा हालसम्म ५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ भने थप २ करोड रकम आवश्यक पर्नेछ। महायज्ञबाट प्राप्त रकम अक्षयकोष वृद्धि गर्न पनि प्रयोग गरिनेछ। हालसम्म आश्रमको केन्द्रीय अक्षयकोषमा ५ करोड रुपैयाँ र रुपन्देहीमा ३५ लाख रुपैयाँ संकलन भइसकेको छ।
मानव सेवा आश्रमले ०६९ सालदेखि हालसम्म १० हजार ६८९ भन्दा बढी सडक मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको छ। यसले २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ। ४ हजारभन्दा बढी मानिसहरूलाई परिवारसँग पुनःमिलन गराइएकोमा १ हजारभन्दा बढी भारतीय नागरिक रहेका छन्। संस्थाले भारतमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ।
लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारीका अनुसार, ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखिएको छ। यो अवधिसम्म खुला आकाशमुनी रात बिताउन बाध्य असहाय र जोखिममा रहेका मानिसहरूको उचित व्यवस्थापन गरिनेछ। कार्यक्रमको क्रममा तिलोत्तमा–6 का वडा अध्यक्ष गणेश पाठकले मानवसेवाको यो अभियानलाई सफल बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताए।