गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१, रिडी रातामाटामा रहेको अटिजम पाठशाला नेपालले आज एक विशेष कार्यक्रमका बीच अक्षय कोष स्थापना गरेको छ। संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि आयोग गुल्मीका अध्यक्ष कृष्ण सुनार प्रमुख आतिथ्यता रहेको थियो ।
रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज बि.क. विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जग्गादाता तथा गुल्मी जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष तुलसीकुमारी श्रेष्ठ, रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष रामलाल बिक, पशुपति अमात्य स्मृति अक्षय कोषका संस्थापक तेजकुमारी अमात्य, समाजसेवी ओम प्रसाद अमात्य, राजन प्रसाद अमात्य, उत्सव अमात्य, प्रतिमा अमात्य, गुल्मी जिल्ला समाज युकेका राजु राणा मल्ल लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित रहेको थियो ।
चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा हाल रसियामा बसोबास गर्दै आएका टेकराज निरौला एवं सपरिवारले अटिजम पाठशालाको सञ्चालन र संवर्द्धनका लागि स्वर्गीय जशोधा देवी निरौलाको स्मृतिमा रु १ लाख रुपैयाँको अक्षय कोष प्रदान गर्नुभएको छ। उक्त रकम संस्थाका सेवामा समर्पित गर्न उत्सव प्रसाद अमात्यले चेक हस्तान्तरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सहयोगमा निरन्तर जुट्ने प्रतिबद्धता जनाउनुभयो।
तनहुँ जिल्ला स्थायी घर भई बेल्जियममा बस्दै आउनु भएकी जमुना गैरे बास्तोलाले रु १० हजार र काठमाडौं निवासी समाजसेवी सुधिर श्रेष्ठले पनि रु १० हजारको अक्षय कोष प्रदान गर्नुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि कृष्ण सुनारले अटिजम पाठशाला नेपालको सेवा र योगदानको प्रशंसा गर्दै यस्ता संस्थाहरूलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थले केन्द्र, प्रदेश, र स्थानीय सरकारसँग सहयोगका लागि अपिल गर्नुभयो। कार्यक्रम संस्थाका स्वयंसेवक विष्णुप्रसाद भण्डारीले सञ्चालन गर्नुभएको थियो।