बुटवल । सडक बत्तीको पोलमा करेन्ट लागेर बुटवलमा छाडा चौपाया (साँढे)ले ज्यान गुमाएको छ । बुटवल तीनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा असुरक्षित तरिकाले वायरिङ गर्दा चौपायालाई करेन्ट लागेको स्थानीयको भनाई छ । निरन्तर वर्षा भइरहेको बुटवलमा शनिबार विहान उक्त घटना भएको हो ।
बुटवल उपमहनगरपालिकाले सडक बत्ती तथा छाडा चौपायाको सही व्यवस्थापन नहुँदा घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । छाडा चौपाया व्यवस्थापन नहुँदा बुटवलमा पटक–पटक विभिन्न घटना हुने गरेका छन् । बुटवलमा छाडा चौपायाको आक्रमणबाट मानिसको समेत ज्यान जानुका साथै सडक दुर्घटनाहरु हुने गरेका छन् । चौपाया व्यवस्थापन नहुँदा गत साउन २० गते एक महिलाले ज्यान गुमाउनु परेको थियो । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले भई बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चेर ज्यान गुमाएकी थिइन् ।