‘साधारण मान्छेको असाधारण राजनीति’

by समतल अनलाइन
Shares

पोखरा । कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ ।

ठूला दलका शीर्षनेताका गरमागरम भाषणका समाचारले सञ्चारमाध्यममा दोहोरी चलिरहेको सन्दर्भमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा भने ‘साधारण मान्छेको असाधारण’ राजनीति भन्दै गुलाफ चिह्न लिएर मतदाता माझ पुगेकी छन् ।

सामाजिक विभेद र विसङ्गतिका विरुद्ध खुलेर आवाज उठाउने शर्मा महिला अधिकारकर्मीका रूपमा परिचित छिन् । विशेष गरी सामाजिक मनोपरामर्शदाताका रूपमा आफ्नो परिचय स्थापना गरेकी शर्मा सामाजिक परिवर्तनका लागि राजनीति आवश्यक रहने भन्ने चेतले आफूलाई उम्मेदवार बन्न प्रेरित गरेको बताउँछिन् ।

‘म ताँतीका ताँती कार्यकर्ता र घाँटीभरिको माला भिरेर उम्मेदवार बन्न रुची राख्दिन, परिवर्तनको झिल्का सानोबाट शुरु हुन्छ, म साधारण मान्छेको असाराधारण राजनीतिबाट यसलाई सम्भव तुल्याउने अभ्यासमा छु’, शर्माले भनिन् ।

‘हाम्रो परम्परागत राजनीतिक अभ्यास कस्तो भयो, आजसम्म के पायौं र अब के पाउँछौं भनेर मूल्याङ्कन गर्ने सही समय आएको छ । अब उपनिर्वाचनबाट जनताले असल नेतृत्व छान्ने छन् ।’

समाजशास्त्र र मानवशास्त्रमा एवं ग्रामीण विकासमा स्नातकोत्तर ३२ वर्षीया शर्मा कानूनमा पनि स्नातक हुन् । उनले प्रारम्भिक शिक्षा बाँके कोहलपुरबाट प्राप्त गरेकी थिइन् । आफ्नो शिक्षा र विशेषज्ञताले सांसदका रूपमा आफू योग्य हुने उनको जिकिर छ । अब सामाजिक रुपान्तरणका लागि स्वच्छ र इमान्दार व्यक्ति राजनीतिमा आउनुपर्ने मतदाताको आवाजले आफूलाई उत्साहित बनाएको शर्माको भनाइ छ ।

‘हामी खरायो दौडमा होइन, कछुवा दौडमा छौं, अहमताको राजनीतिले चर्को आवाज निस्के पनि सेती जस्तै सुस्ताइरहेका हाम्रा आवाज परिवर्तनका लागि गन्तव्य खोजेर बगिरहेका छन्’, शर्मा भन्छिन् ।

पोखरा लेकसाइडकी शर्मालाई सघाउन केन्द्रदेखि युवा नेत्री रञ्जु दर्शना मुख्य प्रचारकका रुपमा कस्केली जनतामाझ आइपुगेकी छन् । युवा पुस्तामा राजनीतिक चेतको विकास गरेर राजनीतिमा नयाँ धारलाई स्थापित गर्ने लक्ष्य पनि विवेकशीलले लिएको पार्टी नेताहरुको भनाइ छ ।

पार्टीको सङ्घीय पदाधिकारीमा ५० प्रतिशत महिलालाई विधानमै सुरक्षित गरेकाले पनि राजनीतिप्रति महिलाको रुचीलाई विवेकशील पार्टीले तान्न खोजेको देखिन्छ । युवालाई राजनीतिमा प्रवेश गराउन केही हदसम्म विवेकशीलले प्रयत्न गरेको छ । अहिले पनि हातमा गुलाफ फूल लिएर मतदातामाझ पुग्ने अधिकांश युवामा महिला देख्न सकिन्छ ।

केही समयअघि साझा पार्टीसँग एकता गरेको विवेकशीलले विचार र सिद्धान्त फरक भएको भन्दै एकता तोडेको थियो । अहिले साझा पार्टीका तर्फबाट रजनी केसी ‘मन बदलौं, मत बदलौं’ भन्ने नाराका साथ चुनावी मैदानमा छिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराईसहित तीन महिला उम्मेदवारको चुनावी अभियान निकै रोचक रूपमा अघि बढेको छ ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाका ११ वडाका कूल ७१ हजार ८७१ मतदाता छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा प्रतिनिधिसभा सदस्यका लागि यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

You may also like

This will close in 0 seconds