दाङ । असोज २९ गते राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना उच्च तहका नेताहरु दाङमा पक्राउ परे। चन्दका सहोदर दाजु चन्दबहादुर चन्दसहित केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न जिल्ला इन्चार्जहरुको पक्राउले विप्लव समूहलाई ठूलो घाटा पुग्यो। राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
एक महिनापछि प्रहरीले दाङ र कपिलवस्तुको सिमानामा पर्ने कपिलवस्तुको शिवनगरपालिका १ मा अत्याधुनिक हतियार फेला पार्यो। विशेष सूचनाका आधारमा तुलसीपुरस्थित पाँच नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ती हतियार बरामद गरेको थियो।
रित्तो गोठमा लुकाएर राखिएका पाँच थान एसएमजीसहित फेला परेका हतियार पनि विप्लव समूहकै थिए। प्रहरीका अनुसार विप्लव समूहले ती हतियार स्थानान्तरणका लागि त्यहाँ राखेको थियो। ‘कहाँ कुन प्रयोजनका लागि स्थानान्तरण गर्न थालिएको थियो भन्नेबारेमा भने यकिन हुन सकेको छैन,’ पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेन्द्रविक्रम शाहले भने, ‘ती हतियारसहित व्यक्ति पनि पक्राउ परेको भए सहजै खुल्ने थियो।’नागरिक दैनिकबाट
 
			        

 
												 
														

