गोकर्ण विष्टले सुधार्न नसकेकै हुन त मन्त्रालय , कि उनी अन्यायमा परे ?

by समतल अनलाइन
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको नाम चर्चामा छ । अन्य मन्त्रीसँगै उनलाई समेत हटाउने हल्लाले वैदेशिक रोजगारसँग सम्बन्धित केहीले भने भोज नै गरिरहेका छन् । कहिले भने उनीहरूले प्रधानमन्त्री ओलीलाई समेत प्रभावमा पारेको आरोप छ । लामो समयदेखि भ्रष्टाचार र लुटतन्त्रको अखडा बनेको वैदेशिक रोजगारीको क्षेत्रमा विष्टले धेरै सुधार गरेको र केही काम प्रक्रियामै रहेकाले उनलाई हटाउन नहुने जानकारहरू बताउँछन् । कतिपयले हटाउन लागिएको हो भने प्रधानमन्त्री ओलीको यस्तो निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा विरोध समेत गरेका छन् ।

मलेसिया सरकारसँग लिएको अडान, जापानमा नेपाली कामदार पठाउन गरिएको पहल, केही खाडी मुलुकसँग गरिएको फ्री भिसा र फ्री टिकट सम्झौता, वैदेशिक रोजगार विभागमा गरिएका सुधारका काम, म्यानपावर कम्पनीहरूलाई जबाफदेही बनाउन चालिएको कदम, आफ्नै प्रदेशबाट श्रम गर्न मिल्ने व्यवस्था, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा जस्ता कामले परिणाम देखाएका मन्त्री विष्ट यति बेला विभिन्न क्षेत्रका माफियाहरूका नजरमा गडेका छन् । मन्त्री विष्टलाई हटाउन नेपाली मात्र होइन मलेसियाकै कतिपय गिरोह महिनौँदेखि लागिपरेको चर्चा पहिले पनि चलेको थियो । उनलाई हटाउन र आफ्नो पुरानो साम्राज्य चलाउन वैदेशिक रोजगारमा संलग्न कतिपय व्यवसायी र वैदेशिक रोजगारीकै मेडिकल सञ्चालकहरू लागिपरेका थिए । मन्त्री विष्टकै कार्यकालमा वैदेशिक रोजगार विभागमा हुने भ्रष्टाचारमा पनि कमी आएको विभागकै एक कर्मचारीले बताए । उनका अनुसार पहिले दिनदिनै कर्मचारी र बिचौलिया रङ्गेहात पक्राउ परेका समाचार आउने गरेको र अहिले त्यस्ता घटना शून्यमा झरेका छन् ।

श्रम मन्त्रालयका एक कर्मचारीले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने, ‘हटाउने भन्ने त होइन होला । तर, चलखेल त पहिलेदेखि नै भएको हो । उपयुक्त समयको खोजीमा सबै थिए, यो बेला हटाउँदा श्रममन्त्री पनि अरू मन्त्रीजस्तै थिए भन्ने देखाउन सजिलो हुने भएकोले यस्तो निर्णय गरिएको होला’। उनका अनुसार मन्त्री विष्टलाई पछिल्लो समय अरू केही निहुँ नपाएपछि सामाजिक सुरक्षा कार्यक्रमलाई गति दिन नसकेको आरोप लगाउने गरिएको थियो । कतिपयले भने यो क्षेत्रमा लामो समय लगाएर पनि सुधार गर्न नसकेका धेरै उदारहरण भएको बेला उनले गरेका धेरै काममा परिणाम देखिएको बताउंदै उनलाई हटाउनै लागिएको भए गोकर्ण विष्ट र श्रम क्षेत्रमै अन्याय हुने बताउँछन ।

You may also like

This will close in 0 seconds