रुसी सेनामा नेपाली युवा पठाउने गिरोहका १२ जना पक्राउ

by समतल अनलाइन
Shares

काठमाडौँ । नेपाली युवालाई अवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १४ गतेयता काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अपरेसन चलाएर प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र दोर्ण डाँगी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेकाहरू रुसी सेनामा जानलाई युवाहरू खोज्ने, कागजात मिलाइ दिनेदेखि भिजिट भिसा मिलाउनेसम्मका गतिबिधिमा संलग्न रहेको प्रहरी स्रोतको दावी छ । ‘अपरेसन द्रूत पारेका छौं । यसमा अझै ठूलो गिरोह सक्रिय रहेको देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘केही दिनमा पक्राउ पर्नेहरूको संख्या अझै बढ्छ ।’

गिरोहले ठूलो संख्यामा नेपाली युवाहरूलाई रुसी सेनामा जान राजी पारिसकेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । ‘दिउँसो रसियन दूतावासमै गएर हेर्दा आजभोलि ठूलै भीड देखिन्छ । त्यो सबै गिरोहको काम हो । हामी गिरोहको अन्तिम विन्दुसम्म पुग्ने कोशिसमा छौं,’ एकजना प्रहरी अधिकारीले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गिरोहले नेपाली युवालाई पहिले भिजिट भिसामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस उडाउने गरेका थिए । पछिल्लो समय नेपालमा कडाई हुन थालेपछि नयाँदिल्लीको बाटोबाट रुस पठाउने गरेको पाइएको स्रोतले बताएको छ । गिरोहले रुस पठाउनका लागि एक जनाबाट १२ लाख रुपैयाँसम्म असुली रहेको पाइएको छ । सरकारले बेलायत र भारतीय सेनामा जानका लागि मात्रै नेपाली युवाहरूलाई वैधता दिएको छ । त्रिपक्षिय सन्धीका आधारमा दुबै देशका सेनामा बर्षौदेखि नेपाली युवा भर्ना हुँदै आएका छन् ।

पछिल्लो समय रुस–युक्रेन युद्ध पछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हँुदै त्यहाँ गइरहेका छन् । कतिपय युवा युएईको बाटो हुँदै पनि रुसी सेनामा गइरहेको समाचारहरू छन् । यसरी अवैध रुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान समेत गुमाएको पुष्टि भइसकेको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भइसकेको छ ।

परराष्ट्र मन्त्रालयले दुई पटक प्रेस विज्ञप्ति नै सार्वजनिक गरेर अवैध रुपमा रुसी सेनामा नजान नेपाली युवालाई आह्वान पनि गरिसकेको छ । उता सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पादकसँग सम्बाद गर्दै नेपाली युवा अवैध ढंगबाट रुसी सेनामा गइरहेको प्रति चिन्ता प्रकट गरेका थिए । यसैबीचमा पछिल्ला दिनमा नयाँ दिल्ली हुँदै ५३ जना युवा रुसी सेनामा गएको खबर आफूलाई प्राप्त भएको जानकारी गराएका थिए ।

You may also like

This will close in 0 seconds