415
काठमाडौं । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको छ ।
यस वर्षको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । रुक्साना कपालीले आफू हुर्कदै गर्दा आफ्नो पहिचानका बारेमा पर्याप्त जानकारी नपाएर संघर्ष गरेकी थिइन् । त्यसपछि उनी आफैले लैंगिक एवं यौनिक पहिचान गरेकी थिइन् ।
हाल उनले नेपालमा एलजीबीटीक्यूप्लस मानिसको अधिकारका विषयमा अवाज उठाउँदै आएकी छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिने र फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् । हाल कपालीले कानुन विषय अध्ययन गरिरहेको र तेस्रो वर्षमा रहेको बीबीसीले जनाएको छ ।