आफ्नो कुलतबाट कसरी उम्किने ? कुलतलाई कसरी राम्रो लतले विस्थापित गर्ने ?

by समतल अनलाइन
Shares

कुलतले हाम्रो जिन्दगीमा यसरी हस्तक्षेप गर्छ कि हाम्रो सोचाइ र काम गराइमा हाम्रो भन्दा बढि कुलतको नियन्त्रण बढि रहन थाल्छ । कुलतले हाम्रो जिन्दगीलाई एउटा घनचक्करमा पारिदिन्छ, हाम्रो उद्देष्यबाट हामीलाई विमुख बनाउँछ । कतिपय कुलतहरु त ज्यानै लिने किसिमका हुन्छन् ।

गाउँघरतिर तास खेल्ने कुलत हुने मानिसहरु पनि हुन्छन् । उनीहरु जुन जस्तो अवस्थामा पनि तास खेल्न तम्तयार भएर बसेका हुन्छन् । घरमा पाहुना आए, तास निकाल्यो । पुजा वा कुनै धार्मिक कार्यक्रममा पुग्यो, तास निकाल्यो । मान्छे मरिमराउ भएको ठाउँमा १३ दिने काज सकिए पनि बेलुका जम्मा भएर पलेटी कसेर तास खेल्न धाउँन नछोड्ने पनि हुन्छन् ।

तासको कुलतमा फसेकाहरुको बानी के हुन्छ भने जे जस्तो अवस्थामा पनि फ्याट्ट तास छोडेर उठ्न नसक्ने । जुन बेला बोलाउँने हो भने पनि ‘एकछिन है’ भनेर तास खेलिरहने । यसैले भनाई छ – तासको कुलतमा फँसेको मान्छेलाई घरमा बाबु बिते भनेर खबर लाने हो भनेर खबर गर्दा पनि भन्छ रे, ‘खोलामा लाने यतैबाट हो, यतैबाट मिसिउँला ।’

तास खेल्ने लगायत पिउँने वा खाने कुराको मात्रै कुलत हुने होइन, कुनै हाउभाउ वा कुनै निश्चित कार्यको पनि हुन सक्छ । आफुलाई थाहै नपाइएका कुलतहरुबाट पनि मानिसलाई अफ्ठ्ठ्यारो पारिरहेको हुन सक्छ तर कुलतको चरित्र यस्तो हुन्छ कि हामी त्यो कुलतका पक्षबाट घण्टौँसम्म वकालत गर्न सक्छौँ । मेरो बानी यसकारण ठिक छ भन्नका लागि हामीसँग हजारौँ कारणहरु हुन सक्छन् । कुलत सहि छ भन्दै बाझ्न वा झगडा गर्न पनि तयार हुन्छौँ ।

तर जे जति तर्क वा कारणहरु भए पनि कुलत भनेको कुलत नै हो र कुलतले सामान्य अवस्थामा आफ्नो भलो गर्दैन । भलो गर्ने भए यसलाई कुलत भनिने पनि थिएन ।

लत कसरी बस्छ ?

तपाईको आजको जीवन तपाईले अपनाउँनु भएका बानीहरुको उपज हो ।

तपाईको शरिर कस्तो छ ? फूर्तिलो कि भद्दा ? मिलेको कि नमिलेको ? जस्तो भए पनि त्यो तपाईको बानीहरुको नतिजा हो ।

तपाई कतिको खुसी हुनुहुन्छ वा दुखी हुनुहुन्छ ? यो पनि तपाईको बानीहरुको परिणाम हो ।

तपाई कतिको सफल वा असफल हुनुहुन्छ ? यो पनि तपाईको बानीहरुको नतिजा हो ।

जे कुरा मानिसले जानी जानी वा अञ्जानमै नियमितरुपमा गरिरहन्छ भने त्यहि कुराहरुको परिणामले मानिस अहिले जस्तो छ, त्यस्तो बनेको हुन्छ । यसरी नियमितरुपमा गरिने र पछि नगरि नहुने अवस्थामा पुग्ने कुरालाई हामी लत बसेको भन्छौँ ।

कुनै कुरा केहि समयसम्म नियमितरुपमा गरिरहदा हामीलाई शारिरिक वा मानसिक रुपमा आनन्दको अनुभव हुन्छ । पछि हाम्रो शरिरले नै त्यो वस्तुको अभाव महसुस गर्न थाल्छ । हाम्रो शरिरले त्यो वस्तु खोज्न थाल्छ । त्यो नगर्दाको अवस्थामा हामी चञ्चल हुन्छौँ, तलतल लाग्छ । यदि त्यो कुराले हाम्रो शरिरलाई वा हामीलाई हानी गर्छ भने त्यसलाई कुलत भनिन्छ ।

हाम्रो कुनै नियमित रुटिनको काम गराइ, साथीसंगत वा कुनै कुराले हाम्रो दिमागलाई त्यो वस्तुको अभाव गराइदिन्छ, हामीलाई त्यो वस्तु पाउँन उत्तेजित बनाइरहन्छ र त्यो उत्तेजना वा तलतल मेट्न हामीलाई जसरी नि त्यो वस्तु चाहिन थाल्छ । यसरी हामी लतको आदी बन्छौँ ।

के कारणले कुलतमा फसिन्छ ?

कुलतमा फस्ने मुख्यतया: ३ कारणहरु हुन्छन् । यी ३ कारणहरुमा पहिलो दुई कारणहरु तपाई स्वयमसँग मात्र सम्बन्धित हुन्छन् भने तेस्रो कारणमा उत्प्रेरकका रुपमा अरु हुन्छन् । यसैले हामी पहिलो दुईकारणहरुलाई सँगै छलफल गरौँ ।

१. तनाव र आलश्यता

तनाव र आलश्यताको कारणले लत बस्छ । त्यो लत हानीकारण छ भने कुलत हुन्छ । सुन्दा सामान्य लाग्छ तर यसको प्रभाव र फैलावट भयावह छ । तनावमा वा आलश्यतामा नङ टोक्दै फ्याल्दै गर्ने देखि उहि खालको रुटिन लाइफबाट टाढा हुन सप्ताहन्तमा रक्सी खाने कुलत जस्तै अन्य लागू औषध वा कुनै डरलाग्दा कामहरु गर्ने सम्मका कार्यहरु मानिसले गर्छन् । यी सम्पुर्ण कुराहरु केवल तनाव र आलश्यताबाट छुटकारा पाउँन मात्रै गरिएको हुन्छ ।

तर तनाव र आलश्यतालाई यसरी मात्रै नियन्त्रण गर्ने वा हस्तक्षेप गर्न सकिने भने होइन । आफुलाई आफ्नो तनाव र आलश्यता कम गराउँन राम्रा र स्वस्थ बानीहरुको विकाश गर्न प्रोत्साहित गर्न सकिन्छ जसले नयाँ कुलतहरु हुन नदिने मात्रै होइनन् कि भएका कुलतहरु पनि विस्थापित गर्छन् ।

हो, कहिलेकाँही तनाव र आलश्यता देखिएको भन्दा गहिरो कारणले भएको हुन सक्छ । यस्तो अवस्थामा आफ्नो बारेमा विवेकपुर्ण निर्णय गर्न गाह्रो हुन सक्छ तर वास्तवमै दिगो र सहि समाधान चाहने हो भने आफुप्रति इमान्दार हुनै पर्छ र आफुप्रति थप संवेदनशील हुनै पर्छ ।

२. साथीसंगत

साथीसंगतको लहैलहैमा लागेर आज मात्रै त हो नि वा रमाइलो नगरे के जिन्दगी भन्ने उक्साहटका कारण पनि कुलत बस्न पुग्छ । सुरुसुरुमा साथीसंगतको मन राख्दिनका लागि मात्रै अपनाएका त्यस्ता बानी व्यवहार पछि आफ्नो कुलत बनिसकेका हुन्छन् ।

यो विशेष गरेर टिनएजर वा कम उमेरकालाई मात्रै हुने भनिए पनि जुनसुकै उमेर समूहका मानिसहरु साथीसंगतका कारणले भिन्न भिन्न किसिमका कुलतमा फसिरहेका हुन्छन् । यसैले साथीसंगतलाई बेला बेला नाइ वा हुन्न भन्न सक्नु पनि फाइदाकारी हुन्छ ।

कसरी विस्थापित गर्ने ?

सबै भन्दा पहिले बुझ्नुहोस् कि तपाई आफ्नो कुलतलाई पुर्णरुपमा हटाउँन सक्नु हुन्न तर विस्थापित गर्न सक्नुहुन्छ । यदि तपाईले कुलतलाई पुर्णत: हटाउँने तिर ध्यान दिनु भयो र त्यो तर्फ बल प्रयोग गर्नु भयो भने विस्तारै तपाईको आत्मबल घट्दै जान्छ । ‘जति गरे पनि नसकिने रहेछ’ भन्ने सोचेर तपाई कुलतसँग आत्मसमर्पण गर्नुहुनेछ ।

यसैले कुलतलाई हटाउँने भन्दा विस्थापन गर्ने बारेमा बल लगाउँनुहोस् । मान्नुहोस् कि तपाई अहिले जे जस्तो हुनुहुन्छ, त्यसको कारण त्यो कुलत पनि हो । तपाई बानी व्यवहार पनि त्यो कुलतबाट निर्देशित भएको हुन सक्छ ।

कहिलेकाँही कुलत भनिएका कुराहरुले पनि जीवनमा तपाईलाई अफ्ठ्यारामा साथ दिएका हुन सक्छन् । धेरै भेटिन्छन् – रक्सी नपिएको भए म बौलाइसक्थेँ । यसो नगरेको भए मेरो हालत झन् खराब हुन्थ्यो । यसैले कतिपय कुलतहरु खराब परिस्थितीसँग जुध्न पनि तपाईले प्रयोग गरेको हुन सक्छ ।

यस्तोमा तपाईले तुरुन्तै कुलत त्याग्न खोज्नु भयो भने असम्भव प्राय हुन्छ । तपाईको जिन्दगीबाट केहि महत्वपुर्ण कुरा गायब भए जस्तो हुन्छ र तपाई त्यसको खोजीमा कुलतमा फसेको भन्दा बढि बेचैन बन्नुहुनेछ ।

अत: कुलतलाई हटाउँने भन्दा विस्थापन गर्ने बारेमा बल लगाउँनुहोस् ।

१. सबै भन्दा राम्रो विकल्प छान्नुहोस्

कुलतलाई के कुराले विस्थापन गर्ने भन्ने बिषयमा सोच्नुहोस् । सकभर कुलतको समय खोसिदा तपाईलाई झन् रमाइलो हुने अवस्था वा बिषय के हुन्छ त्यसबारे सोच्नुहोस् । यदि त्यस्तो गर्न सक्नु हुन्न भने पहिलो चरणमा, त्यो भन्दा कम खराब हुने विकल्प छान्नुहोस् ।

तर यसो गरिरहदा चुरोट छोड्न खैनी र खैनी छोड्न पराग अनि पराग महंगो भयो भन्दै चुरोट खाने वृतबाट भने तपाई निक्लनै पर्छ ।

२. उत्प्रेरकहरुबाट टाढा बस्नुहोस्

आफ्नो कुलतको कारण के हो भन्ने पत्ता लगाउँनुहोस् । कुन कुरा वा के अवस्थामा आफ्नो कुलत प्रतिको तलतल बढ्छ भन्ने कुरा थाहा पाउँनुहोस् र त्यस्तो तलतल लगाउँने कुराहरुबाट सकेसम्म टाढा बस्नुहोस् ।

साथीसंगतकै दबाबमा तपाईको कुलत बसेको हो र उनीहरुकै कारणले तपाई दुर्व्यसनी वा अम्मली बन्दै हुनुहुन्छ भने त्यस्ता साथीसंगतहरुबाट टाढा बस्नुहोस् ।

३. सामुहिक बल प्रयोग गर्नुहोस्

गोप्यरुपमा म कुलत छोड्छु र छोडे पछि मात्रै सबैलाई जानकारी दिन्छु भन्ने सोच्नुहुन्छ ? यस्तो सोच्नुहुन्छ भने यो भ्रमबाट निस्कनुहोस् । कसैले पनि गोप्यरुपमा कुलत छोड्न सक्दैन । तपाईले आफ्नो नजिकका मानिसहरुसँग यो बारेमा कुरा गर्नै पर्छ ।

अझ आफु जस्तै अम्मली वा कुलतमा फसेको मान्छेसँग सल्लाह गरेर सामुहिकरुपमा कुलत त्याग्न बल प्रयोग गर्नु भयो भने चाँडो भन्दा चाँडो कुलतलाई विस्थापन गर्न सकिन्छ ।

४. को जस्तो बन्ने कि पुरानो आफु बन्ने ?

मानिसहरुलाई के भ्रम छ भने कुलत त्याग्नलाई पुर्णरुपमा नयाँ मान्छे जस्तो बन्नु पर्छ तर यस्तो होइन । तपाईलाई नयाँ मान्छे बन्नु पर्ने होइन, बरु पुरानो आफु जस्तो बन्नु पर्ने हो । तपाई कुनै बेला कुलत रहित हुनुहुन्थ्यो, तपाई त्यो बेला जस्तो बन्नु पर्ने हो ।

सबै भन्दा फाइदाको कुरा के छ भने तपाईलाई आफु कुलतमा नहुदाको अनुभव हुन्छ । यो अनुभवले तपाईलाई कुलतरहित हुन के गर्नु पर्छ भन्ने थाहा हुन्छ । यदि कुनै अफ्ठ्यारो कुराको समाधानका रुपमा तपाई कुलतमा हुनुहुन्छ भने तपाईले त्यो अफ्ठ्यारो माथि आफ्नो कुलतको उकेरा लगाउँदै हुनुहुन्छ, कुनै दिन त्यो अफ्ठ्यारो परिस्थिती तपाईको कुलतले पनि समाधान गर्न नसक्ने गरि झाङ्गिन्छ । यसैले भिन्न विकल्पको प्रयोग गरेर समाधान खोज्नुहोस् तर कुलतका पक्षबाट वकालत नगर्नुहोस् । पुरानो आफु बन्नुहोस् ।

You may also like

This will close in 0 seconds