रुपन्देही सुपरलिगः मेलवर्न क्रिकेट क्लबको तिरुपतिमाथि सानदार जित

by समतल अनलाइन
Shares

भैरहवा ।मेलवर्न क्रिकेट क्लबले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको सुपर फोरको खेलमा सानदार जित निकालेको छ । तिरुपति क्रिकेट क्लबले दिएको ९८ रनको झिनो लक्ष्य मेलवर्नले १ विकेट गुमाउँदै भेट्टायो र ९ विकेटको सानदार जित निकाल्यो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा २२.४ ओभरमा ९७ रनमै अलआउट भयो । उसका लागि आनन्दकुमार गौडले नटआउट २२, अजमत अलीले १५ र बसिर अहम्मदले १४ रन बनाए । उसका तीन जना ब्याट्सम्यान शुन्य रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले पनि दोहोरो अंक बटुल्न सकेनन् र टिम सस्तैमा रोकियो । तिरुपतिलाई झिनो स्कोरमा रोक्न ६ ओभर बलिङ गरेका मेलवर्नका रमेश कुर्मीले १ मेर्डन राख्दै ३२ रन खर्चेर ५ विकेट लिन सफल भए । यस्तै, बिष्णु कटरियाले ३ तथा रोशनलाल गुप्ताले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले १८.२ ओभरमा १ विकेटको नोक्सानीमा ९८ रन बनाउँदै जित निकाल्न सफल भयो । उसको जितमा सिद्धार्थ अधिकारीले नटआउट ३५ रन बनाउँदा रोशनलाल गुप्ताले २६ र विजय प्रजापतिले अविजित १९ रनको योगदान गरे । बलिङमा तिरुपतिका बसिर अहम्मदले १ विकेट लिए । मेलवर्नका रमेश कुर्मी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

You may also like

This will close in 0 seconds