सिरहा । सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको आइतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना दाजु–भाइ रहेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो ।

इँट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै जना बालकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।