वन मास्ने र सरकारी ढुकुटी खोलामा बगाउनेलाई जनताले पहिचान गरेका छन् ः पाण्डेय

by समतल अनलाइन
Shares

भैरहवा।रुपन्देही क्षेत्र नम्बर ३ (क) का पाँच दलीय गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सन्तोषकुमार पाण्डेयले वन मन्त्री हुँदा नेपालको वन क्षेत्र मास्न र बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा नेपाल आयल निगमको जमिन खरिद गर्दा अर्बौं रुपैयाँ नदीमा बगाउनेलाई जनताले चिनेको, नचिनेकाले पनि अब पहिचान गरिसकेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रदेशसभाका उम्मेदवार पाण्डेयले मुलुकको राष्ट्रिय ढुकुटीमा मनमौजी गरी करोडौं भ्रष्टाचार गरी नदीमा जमिन किनेर बगाउनेहरुले अहिले आर्थिक समृद्धि र विकासका कुरा गर्नु हास्यापद भएको टिप्पणी गरे । ‘तपाईं हामी सबैलाई थाहा भएको कुरा हो, नेपालको वन क्षेत्र सबैभन्दा बढी को मन्त्री हुँदा मासियो, रातारात काठ तस्करी कसका पालमा भए ? यो नेपाली जनता र क्षेत्रबासीले बिर्सिएका छैनौं’, राप्रपा नेता दीपक बोहराप्रति लक्षित गर्दै पाण्डेयले भने, ‘पटक–पटक सत्ताको स्वाद चाखेका ती व्यक्ति अहिले मत माग्दै हिंडिरहेका छन् ।’

उनले रोहिणी नदीमा आयल निगमको तेल भण्डार केन्द्र निर्माण गर्नका लागि जमिन खरिदमा तत्कालीन मन्त्रीले करोडौं भ्रष्टाचार गरेको आरोप लगाए । ‘हामीले वर्षेनि देखिरहेका छौं, वर्खे भेलमा जनताको खुनपसिनाबाट जम्मा भएको पैसा बगिरहेको छ’, उनले भने, ‘यो कामको अगुवाई गर्ने तत्कालीन मन्त्री अहिले हात जोड्दै हिंडेका छन्, पहिचान गर्नुस्, कहिल्यै नउठ्ने गरी मताधिकारको माध्यमबाट दण्डित गर्नुस् ।’

पाण्डेयले त्यस्तालो फेरि जिताए सत्तामा पुग्ने र रोहिणी नदी र वन मासेझै अर्को फेरि काण्ड गर्ने बताए । ‘ती नेताको काम नै सत्तामा जाने र एउटा एउटा काण्ड गर्ने, करोडौं भ्रष्टाचार गर्ने हो’, पाण्डेयले भने, ‘त्यसैले त्यस्ताबाट सजग रहेर मुलुकको विकास र समृृद्धिका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुस् ।’

You may also like

This will close in 0 seconds