रोल्पा। तिहारका लागि घर रंगाउने कमेरो खन्ने क्रममा आज बिहान पहिरोमा परि रोल्पामा १ किशोरीको ज्यान गएको छ भने २ महिला घाइते भएका छन्।
रोल्पा नगरपालिका-३, कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृती गाउँपालिका-५, काभ्रेका १८ वर्षिया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा परि सोही ठाउँका २२ वर्षीया भावना रोका र २३ वर्षीया सीता घर्ती घाइते भएका छन्।
भावनाको छातीमा र सीताको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
ad
प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए।
कमेरो खानी रहेको उक्त स्थान निक्कै जोखिमयुक्त रहे पनि स्थानीयहरुले दसैंतिहारमा घर रंगाउने कमेरो सोही ठाउँबाट ल्याउँदै आएका छन्। सो स्थानमा अघिल्लो वर्षसमेत १ जनाले ज्यान गुमाएको रोल्पा नगरपालिका-३ की सरमा विष्टले जानकारी दिइन्।
 
			        

 
												 
														

