नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो : वर्षमान पुन

by समतल अनलाइन
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ ले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र देखाएको बताएका छन् ।

उनले नागरिकता जस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी दिए । केपी ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको पुनले उल्लेख गरे ।

आफू सरकारमा छँदा ल्याएकै प्रावधान समेटेर विधेयक पारित भएको यथार्थ ढाकछोप गरी एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको पुनले उल्लेख गरे । ‘ओली सरकारले विधेयक र अध्यादेशमा जेजे प्रावधान अघि सारेको थियो । अहिले पारित भएको नागरिकता विधेयकमा हुबहु त्यही प्रावधान समावेश छ’, पार्टी सम्वद्ध राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैठकलाई सम्बोधन गर्दै आइतबार पुनले भने, ’आफूले विधेक ल्याउने, अध्यादेशमा पनि त्यही ल्याउने अनि अहिले सरकार बाहिर भएका बेला अरुले त्यही प्रावधानसहितको विधेयक पास गर्दा राष्टघाती भनेर विरोध गर्ने एमालेको यो दोहोरो चरित्र सबैले समयमै बुझ्नुपर्छ ।’

पुनले आफू राष्ट्रवादी र बाँकी सबै अराष्ट्रवादी देखाउन जायज नाजायज काम नगर्न एमाले नेतृत्वलाई सुझाए । पुनले नेपालको भू-राजनीतिक संवेदनशीलताको ख्याल गर्दै कोही पनि नेपाली नागरिक नागरिकताविहीन हुनु हुँदैन भन्नेमा आफ्नो दल स्पष्ट रहेको बताएका छन् ।

पुनले नागरिकता ऐनमा उल्लेखित बैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा आफ्नो दलले संसदमा परिमार्जनको प्रस्ताव राखेको उल्लेख गरे । छिमेकी भारत र सार्क मुलुकको अनुभव र अभ्यास हेरेर अंगीकृत नागरिकताको प्रावधानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने विचार व्यक्त गरे ।

वैवाहित अंगीकृत नागरिकताको विषयलाई दाउपेचको राजनीतिक एजेण्डा बनाउन नहुनेमा जोड दिँदै पुनले सबै दलबीच समान धारणा बनाउन जरुरी रहेको बताए । पुनले त्यसका लागि इमान्दारीपूर्वक तयार हुन एमालेलाई आग्रह गरे । सरकारले समेत प्रतिबद्धता जनाएकाले सबै मिलेर अंगीकृत नागरिकताको प्रावधान परिमार्जन गर्नुपर्ने पुनले स्पष्ट गरे ।

फरक प्रसंगमा पुनले नेपालको राजनीति दुई दलीय नभई दुई ध्रुबीय बन्दै गएको बताएका छन् । नेपाली समाज क्रमशः वामपन्थी र प्रजातान्त्रिक विचारधारामा ध्रुबीकृत हुँदै गएको भन्दै विचार मिल्नेहरू एक ठाउँ उभिनु जायज भएको तर्क गरे ।
प्रगतिशील वामपन्थी र क्रान्तिकारी ध्रुवको नेतृत्व आफ्नो दलले गरेको र प्रजातान्त्रिक ध्रुवको नेतृत्व काँग्रेसले गरेको उनले चर्चा गरे । वामपन्थी ध्रुवलाई बलियो र सशक्त बनाउन आफ्नो दलले वामपन्थी र प्रगतिशीलहरूको समाजवादी मोर्चा निर्माणको प्रयास अघि बढाइसकेको पुनले बताए । तर, एमाले ती ध्रुवमा नभई बीचमा उभिएको आरोप पुनले लगाए ।

You may also like

This will close in 0 seconds