सी जिनपिङले घोषणा गरेको कोष नेपालको विकासमा सहयोगी बन्न सक्छ : चिनियाँ नेता लिउ

by समतल अनलाइन
Shares

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानछाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।

आज सोमवार काठमाडौको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गरे । उनले यस कोषले नेपालसहितका देशलाई विकासको क्षेत्रमा महत्वपूणर् सहयोग पुग्ने बताएका हुन् । प्रमुख छाओले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई देशबीचको सामाजिक सङ्गठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, ‘चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बीपी कोइरालाको इतिहास हेरें अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजनाले पनि यस कोषको समर्थन पाउँछ भन्ने आशा छ ।’

लिउले बालबालिकाहरू खुशी भए मात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि उनीहरू स्वस्थ र खुशी हुन आवश्यक रहेको बताएका छन् । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गरे ।

उनले नेपाली बालबालिकाहरूलाई चीन भ्रमणमा आउन पनि आग्रह गरे । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकाहरूलाई स्वागत गर्न पाए आफूले झनै खुशी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

You may also like

This will close in 0 seconds