रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको ज्यान गएको छ । रामेछापको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सीमाना लुभुघाटमा आज बिहान बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।
दुर्घटनामा ४० बढी आइते भएको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उद्धारकार्य जारी छ रहेको बताउँदै उनले भने, ‘अहिलेसम्म ६ जनाको मृत्यु भएको सूचना आएको छ ।’

उनले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको उनले बताएका छन् । घटनास्थलमा रहेकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानकारी दिइन् ।