बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बासोबासीको समस्या सधैंका लागि समाधान गर्ने दावी गरेका छन् ।
राष्ट्रिय भूमि आयोगले शनिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै गृहमन्त्री खाँणले आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्ने बताए ।

‘भूमिहीन सकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गर्ने गरी काम गर्नुस्’ खाँणले आयोगका पदाधिकारीलाई निर्देशन दिँदै भने, ‘सरकारले के गर्नु पर्ने हो ?, बजेट कति चाहिन्छ, सुरक्षाका लागि के सहयोग गर्नु पर्ने हो, सरकार तयार छ ।’
आयोगका पदाधिकारीलाई जिल्लामा सहयोग गर्नु प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी लगायत नेपाल सरकारका कुनै पनि कार्यालयको पहिलो दायित्व जिम्मेवारी हुने भन्दै उनले मातहतका सरकारी निकायलाई पूर्ण सहयोग गर्न निर्देशन पनि दिए ।