लमजुङ । आफ्नै १६ बर्षीया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जानकारी दिए ।
आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए ।

प्रहरीका अनुसार ४५ वर्षीय बाबुले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुई पटक करणी गरेको पीडितले बयान दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा उनले दुई पटकसम्म करणी गरेको स्वीकार गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।