बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले बैंकको शाखा बिस्तार सँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुंच थप बिस्तार हुने बताए ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरीय र बिश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बताए । बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गतेदेखि बैंकिङ्ग कारोबार शुरु गरेको बैंकका ८४ वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका बताए । काठमाण्डौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको एकमात्र विकास बैंकको लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।