शुक्रबार स्थानीय निर्वाचन : मतदान केन्द्र जाँदा के-के कुरामा ध्यान दिने ?

by समतल अनलाइन
Shares

काठमाडौं । भोलि वैशाख ३० गते शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ । मतदान केन्द्रमा जाँदा के कुराहरुमा ध्यान दिनुपर्छ भनेर निर्वाचन आयोगले जानकारी गराएको छ ।

आयोगका अनुसार निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका २०७८ ले विभिन्न व्यवस्था गरेको छ ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको जनाएको छ ।

मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको छ । मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान नपाइने आयोगले जनाएको छ ।

‘कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु लैजान नपाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, आयोगले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ, ‘उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानुन बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग अपिल गर्दछ ।’

You may also like

This will close in 0 seconds