बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै निर्वाचन आयोगलाई खुुला चुनौती दिएका छन् ।
निर्वाचन आचारसंहिताविपरीत तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटिको संयोजक बनेका छन् ।
एमाले उम्मेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीकोे प्रचारमा खटिएका उनले एमाले निर्वाचन प्रचारप्रसार कमिटिले आइतबार राती आयोजना गरेको पत्रकार सम्मेलनमा आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए ।
पत्रकार सम्मेलनमा उनले चुनौती दिदै भने–‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटिको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’
तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए । उनले भने–‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटिमा छु, कसैले यसले आचारसंहिता उल्लंघन ग¥यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’
उनले अहिले पनि आफु नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’
उनले पत्रकार सम्मेलनमा आफुले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरुप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले भने–‘तपाइँहरुले विपक्षीहरुको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला ।’
उनले चुनाबमा उम्मेदवार बनेका प्रतिष्पर्धीहरुको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाब जित्ने सपना नदेख्न आग्रह गरेका थिए ।
प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिएका छन् । उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता वहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् ।
पत्रकार सम्मेलनमा उम्मेदवारहरु मोहन चापागाइँ र जागेश्वरीदेवी चौधरीले आफुले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका थिए ।
आचारसंहिता उल्लंघन गर्दै तिलोत्तमाका मेयर घिमिरे , उल्टै कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती
74
previous post