नेपाललाई युक्रेनको आग्रह : रुसी टोलीलाई नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाइयोस्

Shares

काठमाडौंं । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले रुसी पर्वतारोहण टोलीलाई नेपालको हिमाल आरोहणमा प्रतिबन्ध लगाउन भारतीय दूतावासमार्फत नेपाललाई आग्रह गरेको छ ।

नेपाल मामिला समेत हेर्ने भारतस्थित युक्रेनी राजदूतावासले दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गर्दै युक्रेनमाथि रुसी आक्रमणको अन्त्य नभएसम्म प्रतिबन्ध लगाउन आग्रह गरेको हो ।

भारतस्थित युक्रेनी दूतावासले नेपाली दूतावासलाई लेखेको पत्रमा नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल (टान) र नेपाल एशोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लाई पनि बोधार्थ पठाएको छ ।

युक्रेनमाथि रुसी आक्रमणको कारण ११७ बालबालिकासहित हजारौँ नागरिकको ज्यान गएको, तीन करोडभन्दा बढी मानिस शरणार्थी र आन्तरिक रूपमा विस्थापित भएको पत्रमा जनाइएको छ । रक्तपातपूर्ण रुसी आक्रमणपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र फुटबल, बास्केटबल, टेनिस, हक्की, बक्सिङ, एथलेटिक्सलगायत थुप्रै अन्तर्राष्ट्रिय खेलकुद संघले रुसी प्रतिनिधिमाथि प्रतिबन्ध लगाएको पत्रमा उल्लेख छ ।

‘माथि उल्लेखित कुरालाई ध्यानमा राखी युक्रेनमा रुसी आक्रमणको अन्त्य नभएसम्म रुसी पर्वतारोहण टोलीलाई प्रतिबन्ध लगाउन नेपाली पक्षलाई अनुरोध छ’, पत्रमा भनिएको छ । नेपालमा उनीहरूको उपस्थितिलाई अरु देशका अधिकांश पर्वतारोहण टोलीले स्वागत नगर्ने युक्रेनको भनाइ छ ।

पत्रमा उल्लेख छ, ‘युक्रेनमा सामूहिक निर्मम हत्याका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रुसी झण्डा-प्रतीकलाई पवित्र एवं ईश्वरीय नेपाली हिमालहरूमा आतिथ्य प्रदान गर्नु गहिरो नैतिक चिन्ताको विषय हो ।’ यता, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले त्यो पत्र संघलाई पनि आएको जानकारी भएको भन्दै सरकारले आधिकारिक रुपमा यस विषयमा बोलेपछि मात्रै सोही अनुसार संघले पनि आफ्नो धारणा राख्ने बताए ।

You may also like

This will close in 0 seconds